५ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानले गुहार्यो राष्ट्रसंघ, अमेरिकाले कब्जामा लिएको जहाज फिर्ता गरिदिन माग

अमेरिकाले जफत गरेको व्यापारिक जहाज तत्काल बिना शर्त रिहा गर्न इरानले संयुक्त राष्ट्रसङ्घ गुहारेको छ। इरानले अमेरिकालाई दबाब दिन संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूत अमिर सइद इरवानीले राष्ट्रसङ्घलाई आग्रह गरेका हुन्।

इरवानीले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र सुरक्षा परिषद्का अध्यक्षलाई पठाएको पत्रमा इरानका व्यापारिक जहाज जफत गरी अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको उल्लेख गर्दै घटनाबारे चिन्ता व्यक्त गरेका छन्।

इरवानीले जहाज जफतको घटनाको विस्तृत विवरण दिँदै अमेरिकी सेनाले इरानको तट नजिकै ओमानको सागरबाट जहाज कब्जा गरेको आरोप लगाए।

जबरजस्ती जहाज आक्रमणले र धम्कीले जहाजका चालक दल र उनीहरूका परिवारको जिवन खतरामा परेको उनले उल्लेख गरे।

कानुनी र सुरक्षा चिन्ता व्यक्त गर्दै उनले यस्तो आचरण समुद्री डकैतीको रुप भएको र यसले ढुवानी मार्गहरूको सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने बताए।

इरवानीले जहाज जफत संयुक्त राष्ट्रसङ्घ प्रस्ताव विपरीत हुनुका साथै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको युद्धविरामको उल्लङ्घन गरी भएको बताए।

यो कार्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति सुरक्षाका लागि गम्भीर खतरा खडा गर्नुका साथै युद्वले नाजुक भएको अवस्थालाई अझै अस्थिर बनाएको उनले उल्लेख गरे।

इरवानीले संयुक्त राष्ट्र सङ्घलाई आक्रमण र जहाज जफतको निन्दा गरी अमेरिकालाई जवाफदेही बनाएर जहाज र जहाजमा रहेका सबैलाई विनासर्त रिहा गर्न दबाब दिन आग्रह गरे। एएनआइ

प्रकाशित: ९ वैशाख २०८३ १४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App