इरानले गत वर्ष कम्तीमा एक हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले बिहीबार जनाएको छ।
‘यो धेरै चिन्ताजनक विषय हो,’ समूहका निर्देशक महमुद अमिरी-मोगद्दामले मृत्युदण्डको संख्यााको अकल्पनीय वृद्धिबारेमा भने।
उनले भने, ‘विगत ३५ वर्षमै भएको यो सबैभन्दा अकल्पनीय घटना हो। इरानमा मानव अधिकारको लेखाजोखा राख्न थालिएपछिको यो संख्या निकै धेरै हो।’
इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो।
आईएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ। कम्तीमा एक हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आईएचआरले प्रमाणित गरेको छ।
अमिरी-मोगद्दामले भने, ‘देशको अनिवार्य ‘ड्रेस कोड’ उल्लंघनको आरोपमा पक्राउ परेकी इरानी-कुर्द महिला महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सन् २०२२ सेप्टेम्बरमा भएको विरोध प्रदर्शनपछि मृत्युदण्डको संख्या बढेको छ।’
सन् २०२२ मा मृत्युदण्ड ५०० बाट बढेर सन् २०२३ मा ८०० भन्दा बढी पुगेको थियो भने यो संख्या सन् २०२४ मा ९७५ भएको थियो।
इरानको आर्थिक गतिरोधप्रति असन्तुष्टि व्यक्त गर्दै इरानमा भएको प्रदर्शनको केही दिनपछि यो नयाँ तथ्यांक आएको हो।
इरानको दक्षिणपश्चिमी क्षेत्रमा बिहीबार प्रदर्शनकारी र सुरक्षा फौजबीच झडप भएको थियो र प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो।
‘इरानी अधिकारीहरूले मृत्युदण्डलाई डर सिर्जना गर्ने साधनको रूपमा प्रयोग गर्छन्,’ अमिरी-मोगद्दामले भने।
उनले भने, ‘यी मृत्युदण्डको उद्देश्य नयाँ प्रदर्शनहरू रोक्नु हो। तर पछिल्ला दिनहरूमा तपाईंले देख्नुभएको छ उनीहरू सफल भएका छैनन्।’
यद्यपि भर्खरका प्रदर्शनहरू सन् २०२२ को विरोध प्रदर्शनको स्तरको नजिक पुगेका छैनन्। एजेन्सी
प्रकाशित: १८ पुस २०८२ ०७:३९ शुक्रबार





