भारतीय वायुसेनामा कार्यरत एक विंग कमान्डरमाथि नग्न तस्बिरको प्रलोभनमा परी पाकिस्तानी गुप्तचरलाई संवेदनशील सूचना दिएको आरोप लागेको छ।
उनले भारतको गोप्य युद्ध योजना, लेह एयरबेसको सञ्चालन क्षमता र ड्रोन युद्धसम्बन्धी जानकारी उपलब्ध गराएको प्रहरीको दाबी छ।
दिल्ली प्रहरीले पटियाला हाउस अदालतमा दायर गरेको आरोपपत्रमा ती अधिकारीले पाकिस्तानी गुप्तचर अधिकारीसँग ह्वाट्सएपमार्फत सम्पर्क गरी गोप्य सैन्य सूचना आदानप्रदान गरेको उल्लेख छ।
प्रहरीका अनुसार ती अधिकारी जनवरी १२ देखि अप्रिल १, २०२६ सम्म पाकिस्तानी गुप्तचर अधिकारीको सम्पर्कमा थिए। अनुसन्धानकर्ताहरूले ती महिलाले सामाजिक सञ्जालमार्फत सम्पर्क गरी नग्न तस्बिरको प्रलोभन देखाएर उनलाई संवेदनशील सूचना उपलब्ध गराउन लगाएको आरोप लगाएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार ती अधिकारीले नग्न तस्बिर प्राप्त गरेपछि भारतीय वायुसेनाको गोप्य युद्ध योजनाको एउटा पृष्ठ पठाएका थिए। प्रत्येक नग्न तस्बिरको बदलामा युद्ध योजनाको नयाँ पृष्ठ उपलब्ध गराउने प्रस्तावसमेत उनले गरेको प्रहरीको आरोप छ।
आरोपपत्रमा उनले लेह एयरबेसको सञ्चालन क्षमता, भारतीय वायुसेनाको युद्ध योजना, लडाकु विमानको तैनाथी र ड्रोन युद्धसम्बन्धी संवेदनशील जानकारी साझा गरेको उल्लेख छ। उनले लेह एयरबेस नियमित नभई कहिलेकाहीँ प्रयोग हुने र त्यहाँबाट विभिन्न प्रकारका सैन्य विमान उडाउन सकिने जानकारीसमेत दिएको आरोप छ।
त्यस्तै, उनले गोप्य ड्रोन युनिटको संख्या, संरचना, सञ्चालन क्षमता, ड्रोन परीक्षण, उडान अवधि र हतियारको लक्ष्य निर्धारण प्रणालीबारे जानकारी दिएको प्रहरीको दाबी छ। युद्धको अवस्था सिर्जना भएमा उक्त युनिट कहाँ तैनाथ गरिने भन्ने विवरणसमेत बाहिरिएको आरोप छ।
ती अधिकारीको कार्यालयमा सुरक्षाकर्मीले अनुमति नभएको आईफोन फेला पारेपछि अनुसन्धान सुरु भएको थियो। संवेदनशील जिम्मेवारीमा रहेका अधिकारीलाई कार्यालयमा स्मार्टफोन लैजान अनुमति थिएन। मोबाइल जाँच गर्दा पाकिस्तानी गुप्तचर अधिकारीसँगको सम्पर्क र गोप्य सूचनाको आदानप्रदानबारे प्रमाण भेटिएको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार पाकिस्तानी गुप्तचर अधिकारीले ती विंग कमान्डरलाई मालवेयर तथा स्पाइवेयर पठाएर उनका मातहतका पाँच कर्मचारीका मोबाइल र ल्यापटपमा समेत त्यस्ता सफ्टवेयर राख्न निर्देशन दिएका थिए। यसबाट उनीहरूको उपकरणमा रहेका संवेदनशील विवरण र सैन्य सञ्चारमा पहुँच प्राप्त गर्ने प्रयास गरिएको आरोप छ।
पाकिस्तानबाट सञ्चालन भए पनि ती महिलाले गुजरातमा जारी गरिएको भारतीय मोबाइल सिम प्रयोग गरी ह्वाट्सएपमार्फत अधिकारीसँग सम्पर्क गरेकी थिइन्।
गत मे ३० मा पक्राउ परेका ती अधिकारीविरुद्ध आधिकारिक गोपनीयता ऐनलगायतका कानुनअन्तर्गत मुद्दा चलाइएको छ। दिल्ली प्रहरीको आरोपपत्रमा उल्लेखित दाबी अदालतबाट प्रमाणित हुन बाँकी छन्। मुद्दा अघि बढाउन आवश्यक सरकारी स्वीकृति भने प्रहरीले अझै प्राप्त गरिसकेको छैन।
प्रकाशित: २८ कार्तिक २०८३ १०:०२ शनिबार


-600x400.jpg)


