२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
राजनीति

कोपमा जानेहरूको लर्को छ, सरकारी खर्चमा गएका हुन् कि होइनन् सार्वजनिक गरून् : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप) मा सहभागी हुन जानेहरूले सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले कोपमा दर्जनौँ व्यक्ति व्यक्तिगत खर्चमा वा विभिन्न संस्थाको प्रायोजनमा सहभागी हुने जिकिर गर्दै यस्तो बताएका हुन्।

वातावरणका विद्यार्थीका रूपमा कोपमा गएर हेर्ने र सिक्ने इच्छा हुनु स्वाभाविक भए पनि व्यक्तिगत इच्छालाई सरकारी खर्चमा पूरा गर्न नहुने उनको भनाइ छ।

'कोपमा जानेहरू दर्जनौँ हुन्छन्। साह्रै धेरै व्यक्तिगत खर्चमा, कुनै संस्थाको प्रायोजनमा कोपमा पुग्छन्। हामी वातावरणका विद्यार्थीहरू कोपका बारेमा यति धेरै पढ्छौँ कि एकपल्ट गएर हेरौँ भन्ने चै हुन्छ। देख्न पाइने र सिक्न पाइने कुरा असाध्यै धेरै हुन्छ कोपमा। तर त्यसो भन्दैमा व्यक्तिगत इच्छालाई सरकारी खर्चमा दपेट्न कसैले पनि पाइँदैन,' उनले भनेका छन्।

कार्कीले कोपमा सिक्न र बुझ्न सकिने कुरा धेरै भए पनि निर्णय तथा छलफल प्रक्रियामा प्रत्यक्ष सहभागी नहुने व्यक्तिका लागि सम्मेलनमा नगए पनि बुझ्न नसकिने अवस्था नरहेको उल्लेख गरेका छन्।

यस पटक पनि कोपमा सहभागी हुन जानेहरूको लर्को लागेको भन्दै कार्कीले वातावरणका विद्यार्थी र सांसदसमेत भएकाले धेरै साथीहरू टर्किए पुगिसकेको र पुग्ने क्रममा रहेको बताएका छन्।

उनले कोपमा सहभागी हुन जाने सबैलाई आफू सरकारी खर्चमा गएको हो वा होइन भन्ने विषय सार्वजनिक रूपमा घोषणा गर्न आग्रह गरेका छन्। यस्तो विवरण सार्वजनिक गर्नैपर्ने उनको जोड छ।

'सधैँ झै यसपालि पनि कोपमा जानेहरूको लर्को छ। वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु। जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरुन्। गर्नैपर्छ,' उनले भने।

प्रकाशित: २८ कार्तिक २०८३ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App