२८ कार्तिक २०८३ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असमस्थित काजिरंगामा शुक्रबार तीव्र गतिमा रहेको मिनी बस र कन्टेनर ट्रक एकापसमा ठोक्किँदा २६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेका छन्। असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

दुर्घटनापछि मिनी बस नराम्ररी क्षतिग्रस्त भएको थियो। बसभित्र धेरै यात्रु फसेका थिए। उद्धार टोलीले बस काटेर शवहरू बाहिर निकालेको थियो। बसमा कति जना सवार थिए भन्ने विवरण भने सार्वजनिक भएको छैन।

स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनामा परेको सवारीसाधनको यसअघि १२ पटक ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै चालान काटिएको थियो। तीमध्ये ३८ हजार ५०० भारु जरिवाना तिरिएको थियो भने ४ हजार भारुको एउटा चालान अझै बाँकी थियो। व्यावसायिक सवारीसाधनले तीव्र गतिमा चलाउँदा यस्तो जरिवाना लाग्ने गर्छ।

गोलाघाटका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) स्वप्निल डेकाले पीटीआईलाई बताएअनुसार मिनी बस बोकाखाटबाट नगाउँतर्फ जाँदै थियो। बस तीव्र गतिमा रहेको र प्रारम्भिक अनुसन्धानअनुसार चालकले नियन्त्रण गुमाएपछि विपरीत दिशाबाट आइरहेको कन्टेनर ट्रकसँग ठोक्किएको थियो।

दुर्घटनामा घाइते भएकाहरूलाई कोहोरा मोडल अस्पताल पुर्‍याइएको थियो। गम्भीर घाइतेलाई जोरहाट मेडिकल कलेजमा रिफर गरिएको छ।

घटनाप्रति भारतका राष्ट्रपति र प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले असमको गोलाघाट जिल्लामा भएको दुर्घटनामा मानिसहरूको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोष (पीएमएनआरएफ) बाट दुई–दुई लाख भारु आर्थिक सहायता उपलब्ध गराइने मोदीले घोषणा गरेका छन्। त्यस्तै, घाइतेहरूलाई ५०–५० हजार भारु प्रदान गरिनेछ।

असममा पाँच वर्षमा सडक दुर्घटनाबाट १५ हजारभन्दा बढीको मृत्यु

भारत सरकारको तथ्याङ्कअनुसार सन् २०२० देखि २०२४ सम्म असममा भएका सडक दुर्घटनामा १५ हजार ३०६ जनाको मृत्यु भएको छ। तथ्याङ्कअनुसार सन् २०२४ मा सबैभन्दा धेरै तीन हजार ३५१ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए। त्यस्तै, सन् २०२३ मा तीन हजार २९६ र सन् २०२२ मा दुई हजार ९९४ जनाको मृत्यु भएको थियो।

तर त्यसपछिको तथ्याङ्क भने सार्वजनिक भएको छैन।

प्रकाशित: २८ कार्तिक २०८३ १०:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App