इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सका तर्फबाट खेल्दै आएका भारतीय क्रिकेटर अभिषेक पोरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्।
एक मेडिकल छात्राको उजुरीका आधारमा मंगलबार कोलकातामा प्रहरीले २३ वर्षीय विकेटकिपर-व्याटर पोरेललाई नियन्त्रणमा लिएको हो।
कलकत्ता उच्च अदालतको आदेशपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। अदालतले गत जुलाई २० मा पोरेललाई पक्राउ गर्न र उनका सम्पूर्ण इलेक्ट्रोनिक डिभाइसहरू जफत गर्न प्रहरीलाईआदेश दिएको थियो।
पीडित छात्राले गत जुन २३ मा मोगरा प्रहरी स्टेसनमा पोरेलविरुद्ध बलात्कार, कुटपिट र आपराधिक धम्कीको किटानी उजुरी दर्ता गराएकी थिइन्।
पीडित छात्राका अनुसार उनी र अभिषेक विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। तर, गत वर्षदेखि दुवैबीच मतभेद सुरु भएपछि क्रिकेटर पोरेल उनीबाट टाढिन खोजेका थिए।
विवाह गर्ने आश्वासन दिएर आफूसँग शारीरिक सम्बन्ध बनाएको तर पछि विवाह गर्न अस्वीकार गर्दै कुटपिट र आपराधिक धम्की दिएको आरोप उनले लगाएकी छन्।
क्रिकेटर पोरेलले भने आफूमाथि लागेका आरोपहरू पूर्ण रूपमा झूटो र कपोलकल्पित रहेको दाबी गर्दै आएका छन्। भारतीय न्याय संहिताको धारा ६९ अनुसार विवाहको झूटो आश्वासन दिएर शारीरिक सम्बन्ध बनाएको कसुर प्रमाणित भएमा १० वर्षसम्मको कैद र जरिवानाको कानुनी व्यवस्था छ।
बायाँहाते शीर्ष क्रमका ब्याटर अभिषेक पोरेल सन् २०२३ देखि आइपिएलमा दिल्ली क्यापिटल्सको हिस्सा रहँदै आएका छन्। दिल्लीले उनलाई चार करोडमा रिटेन गरेको थियो।
उनले घरेलु टोली बंगालका लागि ११६ र आइपिएलमा ३५ खेल खेलिसकेका छन्। ३२ प्रथम श्रेणी र २३ लिस्ट ‘ए’ म्याच खेलेका पोरेल ‘इन्डिया ए’ टोलीसँग इङ्गल्याण्ड र अस्ट्रेलिया भ्रमणसमेत गरिसकेका खेलाडी हुन्।
प्रकाशित: २६ श्रावण २०८३ १७:२० मंगलबार





