२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनले तिब्बतमा विशाल बाँध निर्माण थालेपछि भारत चिन्तित

प्रधानमन्त्री ली कियाङको उपस्थितिमा चीनले तिब्बत र भारत भएर बग्ने एक नदीमा शनिबारदेखि ठुलो बाँध निर्माण सुरु गरेको छ।

तिब्बतमा यार्लुङ साङ्पो भनिने उक्त नदी भारतमा ब्रह्मपुत्रको नामले चिनिन्छ। चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रमा आर्थिक लक्ष्यसँग जोड्ने यो परियोजनालाई बेइजिङले डिसेम्बरमा अनुमोदन गरेको थियो।

दक्षिणपूर्वी तिब्बतको निङ्चीमा शिलान्यास समारोहपछि अधिकारीले उक्त परियोजना अन्तर्गत उत्पादन हुने विद्युतबाट तिब्बतमा विद्युतको मागलाई सम्बोधन गरिनेछ।

उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिनेछ भने तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गरिनेछ। 

यो बाँध मध्य चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा ठुलो हुनेछ। बाँध निर्माणका कारण रोकिने पानीले भारत र बङ्गलादेशका लाखौँ मानिसमा गम्भीर प्रभाव पर्न सक्छ।

यस परियोजनामा पाँचवटा जलविद्युत केन्द्र निर्माण हुनेछ, जसको कुल लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।  

गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग चासो व्यक्त गरेको र ‘भारतीय हितको रक्षाका लागि आवश्यक कदम चाल्ने’ बताएको थियो।  

भारतको विदेश मन्त्रालयले भनेको छ, ‘चीनलाई यो सुनिश्चित गर्न आग्रह गरिएको छ कि ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितमाथिको गतिविधिले क्षति नपुगोस्।’  

गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो। साथै, चीनले नदीको तल्लो भेगका देशसँग पनि सम्पर्क कायम राख्ने बताएको थियो।  

पर्यावरणविद्ले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठुला परियोजनाको अपरिवर्तनीय प्रभावबारे चेतावनी दिएका छन्।  

छिमेकी तथा प्रतिद्वन्द्वी एसियाली शक्ति भारत र चीनको हजारौँ किलोमिटर लामो सिमाना साझा रहेको छ। एएफपी

प्रकाशित: ४ श्रावण २०८२ ०८:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App