२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अफ्रिकी मुलुकमा इबोला भाइरसको संक्रमण तीव्र, यात्रा नगर्न भारतको आग्रह

विश्व स्वास्थ्य संगठनले इबोला भाइरसको नयाँ प्रकोपलाई लिएर सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। विश्व स्वास्थ्य संगठनले आपतकाल घोषणा गरेसँगै भारत सरकारले आफ्ना नागरिकलाई विशेष यात्रा नगर्न आग्रह गरेको हो।

भारतले आफ्ना नागरिकलाई अफ्रिकी मुलुक कंगो, युगान्डा र दक्षिण सुडानको अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो। भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त देशहरूमा बसोबास गरिरहेका वा यात्रा गरिरहेका भारतीय नागरिकहरूलाई स्थानीय अधिकारीहरूले जारी गरेको स्वास्थ्य निर्देशनहरू कडाईका साथ पालना गर्न निर्देशन गरेको छ। 

यसअघि मे २१ मा भारतले इबोला प्रभावित देशहरूबाट आउने वा ट्रान्जिट हुने यात्रुहरूका लागि स्वास्थ्य सल्लाह जारी गरिसकेको छ। जसअनुसार इबोलाको लक्षण देखिएका वा संक्रमित क्षेत्रको यात्रुहरूले अध्यागमन क्लियरेन्स अघि विमानस्थलका स्वास्थ्य अधिकारीलाई जानकारी गराउनुपर्ने बताएको थियो।

​स्विट्जरल्याण्डको जेनेभामा आयोजित ७९ औं विश्व स्वास्थ्य सभामा बोल्दै डब्लुएचओका प्रमुख टेड्रोस गेब्रेयससले हालैको इबोला र हान्ताभाइरसको प्रकोपले विश्वमा तीव्र गतिमा संक्रामक फैलिने भन्दै उच्च जोखिममा रहेको बताएका थिए। युगान्डामा इबोला भाइरसको ‘बुन्डिबुग्यो स्ट्रेन’ नयाँ केसहरू पुष्टि भएको बताइएको छ।

​मध्य अफ्रिकामा इबोलाको प्रकोप द्रुत गतिमा फैलिएसगैं स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार कंगोमा मात्रै ८६७ संदिग्ध घटना भएका छन् भने २०४ जनाको मृत्यु भएको छ। कंगोका तीनवटा प्रान्तमा उक्त भाइरस फैलिसकेको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार इबोलाको औसत मृत्युदर लगभग ५० प्रतिशत छ। यसअघिका प्रकोपहरूमा यसको मृत्युदर २५ देखि ९० प्रतिशतसम्म थियो।

प्रकाशित: १० जेष्ठ २०८३ १६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App