१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इमरान खानको आँखाको उपचार

पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ। उनलाई आँखा इन्जेक्सनको दोस्रो मात्रा दिन लगिएको र स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

सन् २०२३ देखि कारागारमा रहेका ७३ वर्षीय खानलाई गत वर्षको अन्त्यतिर भ्रष्टाचार मुद्दामा उनी र उनकी श्रीमतीलाई १७ वर्षको सजाय सुनाइएको थियो। परिवार र कानुनी टोलीका अनुसार उनको दाहिने आँखाको अधिकांश दृष्टि गुमिसकेको छ। उनका वकिल सलमान सफदरले यसअघि एक पत्रकार सम्मेलनमा उनको एउटा आँखामा करिब १५ प्रतिशत मात्र दृष्टि बाँकी रहेको बताएका थिए।

यद्यपि उपचार गरिए पनि उनका प्रेस सल्लाहकार सैयद जुल्फिकार बुखारीले व्यक्तिगत चिकित्सक र परिवारसँग भेटघाटको अनुमति नदिएको भन्दै असन्तुष्टि जनाएका छन्। गत साता उनको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै एक दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट कप्तानहरूले इस्लामाबाद सरकारसँग पर्याप्त उपचार उपलब्ध गराउन आग्रह गरेका थिए।

सन् २०१८ देखि २०२२ सम्म प्रधानमन्त्री रहेका खान राजनीतिक सङ्कटका बीच अविश्वास प्रस्तावमार्फत पदबाट हटेका थिए। त्यसयता उनले भ्रष्टाचार लगायतका विभिन्न मुद्दा सामना गर्दै आएका छन्। उनी र उनको दल पाकिस्तान तहरीक–ए–इन्साफले ती मुद्दा राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गर्दै आएका छन्।

मे २०२३ मा उनको गिरफ्तारीपछि देशव्यापी प्रदर्शन भड्किएको थियो, जसमा केही स्थानमा हिंसा भएको र सयौँ व्यक्ति पक्राउ परेका थिए। उनका छोरा कासिम खानले सामाजिक सञ्जालमार्फत आफ्नो बुबाको वर्तमान स्वास्थ्य अवस्था कारावास अवधिको ‘चिकित्सकीय उपेक्षा’ को परिणाम भएको आरोप लगाएका छन्। रासस\एएफपी

प्रकाशित: १२ फाल्गुन २०८२ १६:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App