२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मानवसहितको चन्द्रमा अभियान: आर्टेमिस २ लाई फेब्रुअरी २०२६ सम्ममा प्रक्षेपण गर्ने

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आफ्नो महत्वाकांक्षी आर्टेमिस कार्यक्रम अन्तर्गत मानवसहितको चन्द्रमा अभियान आर्टेमिस २ लाई फेब्रुअरी २०२६ सम्ममा प्रक्षेपण गर्ने योजना बनाएको छ। 

यो प्रक्षेपण मूलतः अप्रिलमा हुने भनिए पनि केही महिना अगाडि नै गर्न सकिने सम्भावना देखिएको हो। आर्टेमिस कार्यक्रमको मुख्य लक्ष्य मानिसलाई चन्द्रमामा फिर्ता ल्याउनु र चीनजस्ता अन्य देशसँग प्रतिस्पर्धा गर्नु रहेको छ। 

चीनले पनि २०३० सम्ममा चन्द्रमामा अन्तरिक्ष यात्री पठाउने लक्ष्य राखेको छ। आर्टेमिस २ मिसनको उद्देश्य वैज्ञानिक खोज गर्नु, आर्थिक लाभका लागि चन्द्रमाको अन्वेषण गर्नु, र भविष्यमा मंगल ग्रहमा मानव मिसनका लागि जग बसाल्नु रहेको नासाले जनाएको छ। आर्टेमिस २ को टोलीमा नासाका अन्तरिक्ष यात्रीहरू क्रिस्टिना कोच, भिक्टर ग्लोभर, रीड वाइजम्यान र क्यानेडियन अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री जेरेमी हान्सन रहेका छन्। 

यो टोलीले चन्द्रमामा अवतरण नगरि चन्द्रमाको वरिपरि १० दिनको यात्रा गर्ने अन्तराष्टिय संचारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीका अनुसार यो सन् १९७२ पछि पृथ्वीको तल्लो कक्षाभन्दा बाहिर यात्रा गर्ने पहिलो मानवसहितको मिसन हुनेछ। यो मिसनमा नासाको विशाल ९८ मिटर अग्लो स्पेस लन्च सिस्टम रकेट र ओरियन क्याप्सुल प्रयोग गरिनेछ। 

नासाका कार्यवाहक सहयोगी प्रशासक लाकिशा हकिन्सले सुरक्षालाई प्राथमिकता राखेको बताएकी छिन्। आर्टेमिस २ लाई नासाको अझ ठूलो र महत्वाकांक्षी मिसन आर्टेमिस ३ को परीक्षणका रूपमा लिइएको छ। 

सन् २०२७ का लागि योजना गरिएको आर्टेमिस ३ ले स्पेसएक्सको स्टारशिप रकेटको सहायताले चन्द्रमामा मानव अवतरण गराउने लक्ष्य राखेको छ। यो मिसनको घोषणासँगै ५० वर्षभन्दा पहिले नील आर्मस्ट्रङले अपोलो ११ मिसनका कमान्डरका रूपमा सन् १९६९ मा चन्द्रमामा पहिलो पाइला राखेको ऐतिहासिक क्षणको पनि स्मरण गरिएको छ।एजेन्सी

प्रकाशित: ८ आश्विन २०८२ ०८:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App