गाजालाई निःशस्त्रीकरण गर्ने प्रस्ताव हमासले अस्वीकार गरेको एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बताएका छन्। यससँगै अमेरिका नेतृत्वको शान्ति प्रयासअन्तर्गत अघि बढाइएको वार्ता पुनः जटिल बन्न पुगेको छ।
रिपोर्टअनुसार, हमासले अमेरिकी पहलमा गाजाका लागि नियुक्त उच्च प्रतिनिधि निकोलाय म्लाडेनोभको प्रस्तावलाई पक्षपातपूर्ण भन्दै अस्वीकार गरेको हो। उनले गाजामा युद्धविरामको दोस्रो चरणअन्तर्गत निःशस्त्रीकरणको रूपरेखा अघि सारेका थिए।
हमासले भने पहिलो चरणका सबै सर्त इजरायलले पूर्ण रूपमा कार्यान्वयन नगरेसम्म दोस्रो चरणको वार्तामा सहभागी नहुने स्पष्ट पारेको छ। यता इजरायलले पनि हमासको निःशस्त्रीकरणमा प्रगति नभएसम्म अर्को चरण अघि नबढाउने अडान लिएको छ।
गत अक्टोबरमा सुरु भएको युद्धविरामको पहिलो चरणले युद्ध रोक्नुका साथै हमासले बन्धक बनाएका इजरायलीहरू र इजरायलले नियन्त्रणमा राखेका प्यालेस्टिनी कैदीहरूको आदानप्रदान गराएको थियो। साथै इजरायली सेना आंशिक रूपमा गाजाबाट फिर्ता भएको थियो।
तर दोस्रो चरण सुरु गर्ने प्रयास भए पनि हमास र इजरायलबीच सहमति नहुँदा प्रक्रिया ठप्प जस्तै बनेको छ। दोस्रो चरण सफल भएमा गाजाबाट पूर्ण रूपमा इजरायली फौज फिर्ता हुने र स्थायी शान्ति स्थापना हुने अपेक्षा गरिएको छ।
यद्यपि निःशस्त्रीकरण, पुनर्निर्माण र सुरक्षा व्यवस्थाका विषयमा मतभेद कायम रहँदा गाजामा शान्ति प्रक्रिया अझै अनिश्चित बनेको छ। -बीबीसी
प्रकाशित: १ वैशाख २०८३ २०:५६ मंगलबार





