२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनको कोइला खानीमा ग्यास विस्फोट : मृतक संख्या ९० पुग्यो, ९ अझै बेपत्ता

उत्तरी चीनको शान्सी प्रान्तस्थित एक कोइला खानीमा शुक्रबार राति भीषण ग्यास विस्फोट हुँदा ज्यान गुमाउनेहरुको संख्या ९० पुगेको छ। चाङ्झी शहरको किन्युआन काउन्टीमा रहेको लिउशेन्यु कोइला खानीमा भएको उक्त दुर्घटनामा परि मृत्यु हुनेको संख्या ९० पुगेको चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन्।

शान्सी तोङझोउ समूहद्वारा सञ्चालित सो खानीमा स्थानीय समय अनुसार शुक्रबार साँझ ७:२९ बजे भूमिगत ग्यास विस्फोट भएको थियो। दुर्घटनाको समयमा २४७ जना कामदारहरू जमिनमुनि कार्यरत थिए। तीमध्ये अधिकांशलाई बाहिर निकालिए पनि ठूलो संख्यामा मानवीय क्षति भएको छ भने ९ जना कामदार अझै पनि जमिनमुनि फसेका छन्। फसेकाहरूको खोजीका लागि तीव्र रूपमा उद्धार कार्य जारी राखिएको छ।

दुर्घटनालगत्तै प्रान्तीय, सहर तथा काउन्टी तहका पार्टी समिति र सरकारहरूले आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय गराएका थिए। पिपुल्स डेलीका अनुसार उद्धार कार्यका लागि ८७० भन्दा बढी स्वास्थ्यकर्मी, उद्धार कर्मचारी र प्रहरी अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको छ। यस्तै, घाइतेहरूको उपचार र बाँकीको उद्धारका लागि उपप्रधानमन्त्री झाङ गुओकिङले नेतृत्व गरेको टोलीले घटनास्थलमै पुगेर निरीक्षण गरिरहेको छ। घटनामा संलग्न कम्पनीका इन्चार्ज (प्रबन्धक) लाई अनुसन्धानका लागि कानुन अनुसार नियन्त्रणमा लिइएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति दु:ख व्यक्त गर्दै घाइतेहरूको उचित उपचार र उद्धार कार्यलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीले दुर्घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गरे। उनले देशभरका अधिकारीहरूलाई यो दुर्घटनाबाट पाठ सिक्न, कार्यस्थलको सुरक्षामा सतर्क रहन र भविष्यमा यस्ता ठूला दुर्घटनाहरू रोक्नका लागि सम्भावित जोखिमहरू समयमै पहिचान गरी हटाउन चेतावनी दिएका छन्।

यसैगरी प्रधानमन्त्री ली चियाङले पनि देशभर कार्यस्थल सुरक्षा सुपरिवेक्षणलाई सुदृढ बनाउन र प्रमुख औद्योगिक क्षेत्रहरूमा सुरक्षा सुधार गर्न निर्देशन दिएका छन्। चीनमा बाढीको मौसम सुरु भइसकेकाले राष्ट्रपति सीले विपद् व्यवस्थापन र आपतकालीन तयारीलाई सुदृढ बनाउन समेत आह्वान गरेका छन्।

प्रकाशित: ९ जेष्ठ २०८३ १५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App