फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले व्यापारिक सम्झौता र युक्रेन युद्धविरामका लागि रुसमाथि दबाब दिन चीनलाई जोड्ने लक्ष्यसहित बुधबार तीन दिने भ्रमणका लागि बेइजिङ पुगेका छन्।
म्याक्रोनले आर्थिक सन्तुलन र ‘सबैलाई फाइदा पुग्ने दिगो वृद्धि’ सुनिश्चित गर्ने एजेन्डा अघि सारेका छन्। फ्रान्सले चिनियाँ लगानी आकर्षित गरी निर्यात बजार विस्तार गर्ने र ऊर्जा, खाद्य तथा उड्डयन क्षेत्रमा सम्झौताहरू गर्ने अपेक्षा गरेको छ। उनले ‘निष्पक्ष र पारस्परिक बजार पहुँच’ को रक्षा गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले म्याक्रोन र उनकी श्रीमती ब्रिगिटलाई स्वागत गरेका थिए। बुधबार साँझ उनीहरूले फोर्बिडन सिटीको कियानलोङ बगैँचा भ्रमण गरे, जुन हालै मर्मतपछि जनताका लागि खोलिएको थियो। बिहीबार (आज) ग्रेट हल अफ द पिपुलमा सी जिनपिङसँग भेटघाट हुने कार्यक्रम रहेको छ।
त्यसपछि उनले फ्रान्को–चिनियाँ व्यापार मञ्चमा भाग लिनेछन्। दिउँसो राष्ट्रिय जनकांग्रेस अध्यक्ष झाओ लेजी र प्रधानमन्त्री ली छियाङसँग वार्ता हुनेछ। शुक्रबार चेङ्दु पुगेर सीसँगै दुजियाङयान सिँचाइ प्रणालीको स्थलमा छलफल गर्ने र सिचुआन विश्वविद्यालयका विद्यार्थीहरूसँग भेट्ने कार्यक्रम छ। त्यहाँ विशाल पाण्डा संरक्षण केन्द्रमा फ्रान्समा जन्मेको पहिलो पाण्डा युआन मेङ बस्छ, जसको नाम ब्रिगिटले राखेकी थिइन्।
फ्रान्सले गत महिना १३ वर्षपछि तीन बच्चासहितका स्टार पाण्डाहरू चीन फिर्ता पठाएको थियो। फ्रान्स र युरोपेली संघले चीनलाई साझेदार, प्रतिस्पर्धी र प्रणालीगत प्रतिद्वन्द्वी ठान्छन्। गत वर्ष फ्रान्सको तीन सय अर्ब युरोभन्दा बढीको व्यापार घाटामध्ये ४६ प्रतिशत चीनसँग छ। युरोपेली संघले चिनियाँ विद्युतीय सवारी अनुदानको अनुसन्धान गर्दै ट्रेड रुल्स कडा पारिरहेको छ।
जुलाईमा म्याक्रोनले कोग्नाक उत्पादकहरूलाई छुट दिने कदमलाई सकारात्मक मानेका थिए। युक्रेन युद्धबारे सीसँगको वार्तामा म्याक्रोनले पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको छलफलपछि रुसमाथि दबाब दिन अनुरोध गर्ने अपेक्षा गरिएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा जाँदैछन्। त्यसअघि म्याक्रोन चीन पुगेका हुन्। पुटिनलाई रोक्न अमेरिका, युरोपले चीनमाथि निरन्तर दबाब बनाइरहेका छन्।
यो पनि पढ्नुहोस्
पुटिन दिल्ली पुग्नुअघि अमेरिकाले भारतलाई दियो ९५ करोड डलरको रक्षा ‘डिल’
‘हामी के चाहन्छौँ...भने चीनले रुसलाई सकेसम्म चाँडो युद्धविरामतर्फ अघि बढ्न मनाउन र प्रभाव पार्न सकोस् र वार्ता मार्फत त्यो युद्धविरामलाई सुदृढ पार्न सकोस्, जसले हाम्रो विचारमा युक्रेनको लागि ठोस सुरक्षा ग्यारेन्टी प्रदान गर्नेछ,’ एक फ्रान्सेली कूटनीतिक अधिकारीले भने।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले गत हप्ता बेइजिङले युक्रेन युद्ध समाधान गर्न ‘वार्ता र वार्ता’ मा विश्वास गर्ने बताउँदै शान्तितर्फ डोऱ्याउने ‘सबै प्रयास’ लाई समर्थन गर्छ भनेकी थिइन्। युक्रेन द्वन्द्वको सुरुवातदेखि नै चीनले ‘संकटको राजनीतिक समाधानलाई प्रवर्द्धन गर्न रचनात्मक भूमिका खेलेको छ,’ उनले भनिन्। फ्रान्सले २०२६ मा समूह सात (जी–७) को शिखर सम्मेलन आयोजना गर्दैछ। उता, चीनले २१ सदस्यीय एसिया–प्रशान्त आर्थिक सहयोग मञ्चको अध्यक्षता गर्दैछ, जसमा अमेरिका, दक्षिण कोरिया, जापान, अस्ट्रेलिया र रुस पनि छन्। एजेन्सी
प्रकाशित: १८ मंसिर २०८२ १०:३४ बिहीबार





