२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पहिलो अमेरिकी महिला अन्तरिक्ष यात्री स्याली राइड र नासाको तयारी

सन् १९७८ मा नासाले अन्तरिक्ष यात्राको नयाँ युग सुरु गर्दै ३५ जना नयाँ अन्तरिक्ष यात्रीहरूको घोषणा गरेको थियो। जसमध्ये ६ जना महिला थिए। यो निर्णयले नासाको परम्परागत पुरुष प्रधान अन्तरिक्ष यात्री समूहमा ठूलो परिवर्तन ल्यायो। यी महिलाहरूको अन्तरिक्ष यात्राको तयारीका क्रममा नासाले सामना गर्नुपरेका केही अनौठा र रोचक चुनौतीहरू यहाँ प्रस्तुत गरिएका छन्।

१८ जुन १९८३ मा अमेरिकी भौतिकशास्त्री स्याली राइड स्पेस शटल च्यालेन्जरबाट अन्तरिक्षमा जाने पहिलो अमेरिकी महिला बनिन्। त्यतिबेलासम्म, विश्वमा दुई महिला मात्रै अन्तरिक्षमा पुगेका थिए। सन् १९६१ मा सोभियत अन्तरिक्ष यात्री भ्यालेन्टिना तेरेशकोभा र सन् १९८२ मा स्वेतलाना सेभिस्काया रहेका थिए ।  

नासाले स्याली राइडसहित अन्य छ जना नयाँ महिला अन्तरिक्ष यात्रीहरूका लागि व्यक्तिगत प्राथमिकता किट तयार पारेको थियो। जसमा मेकअपका सामग्रीहरू पनि समावेश थिए। यसमा मस्कारा, आँखाको छायाँ र लिपस्टिकजस्ता सौन्दर्य प्रसाधनहरू राखिएका थिए।

यद्यपि धेरै महिला अन्तरिक्ष यात्रीहरूले यसमा असन्तुष्टि जनाएका थिए। अन्तरिक्ष यात्री क्याथरिन सुलिभान ले यसलाई रमाइलो र झन्झटको मिश्रण भन्दै मेकअप किटले उनीहरूलाई पुरुष समकक्षीहरूभन्दा कम मिसन केन्द्रित रूपमा हेरिएको महसुस भएको बताएकी थिइन्। तर सबै महिलाले यसलाई अस्वीकार गरेनन्। अन्तरिक्ष यात्री रिया सेडन ले आफूलाई फोटोहरूमा स्पष्ट देखिनका लागि केही आधारभूत मेकअप सामग्रीहरू अनुरोध गरेको स्वीकारिन्।

मेकअपबाहेक, नासाका लागि महिला अन्तरिक्ष यात्रीहरूको सरसफाइ र व्यक्तिगत आवश्यकता बुझ्न पनि चुनौती बन्यो। स्याली राइडलाई दिइएको व्यक्तिगत किटमा लगभग १०० वटा ट्याम्पोन राखिएको थियो, जसलाई उनले 'धेरै धेरै धन्यवाद' भन्दै अस्वीकार गरिन्।

सुलिभानका अनुसार यो नासाको निर्दोष गल्ती थियो किनभने उनीहरूले महिलाहरूको व्यक्तिगत आवश्यकता र महिनावारी चक्रबारे पूर्ण जानकारी राखेका थिएनन्। पुरुषका लागि मात्र तयार गरिएका अन्तरिक्ष पोशाकहरू र सरसफाइका उपकरणहरूमा पनि महिलाहरूको शरीरको बनावटअनुसार समायोजन गर्नुपरेको थियो।

यी चुनौतीहरूका बावजुद नासाले महिलाहरूलाई अन्तरिक्ष कार्यक्रममा स्वीकार गर्ने आफ्नो प्रतिबद्धता देखाएको थियो। सन् १९७८ मा अन्तरिक्ष यात्री अन्ना फिशरले भनेकी थिइन् मिसन नियन्त्रणमा पनि महिलाहरू थिए। यद्यपि उडान नियन्त्रक र निर्देशकको संख्या कम थियो। पहिलो महिला उडान निर्देशक सन् १९८४ मा मात्र नियुक्त भएकी थिइन्।

नासाले महिलाहरूको लागि डिस्पोजेबल अवशोषण र सङ्कलन ट्रंक जस्ता व्यक्तिगत उपकरणहरू पनि निर्माण गरेको थियो। जसले उनीहरूको आवश्यकतालाई सम्बोधन गर्यो। यसरी नासाले आफ्नो ऐतिहासिक कमजोरीहरूलाई सुधार गर्दै अन्तरिक्ष अन्वेषणमा महिलाहरूको सहभागितालाई सुनिश्चित गरेको थियो।

प्रकाशित: २२ भाद्र २०८२ ११:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App