चीनमा युवाहरूले पैसा तिरेर नक्कली कार्यालयमा काम गरेको नाटक गर्न थालेका छन्। यस्ता कम्पनीहरूको संख्या दिनदिनै बढिरहेको छ।
चीनको सुस्त अर्थतन्त्र र जागिरको अभावले यो चलन लोकप्रिय भएको हो। धेरैले घर बस्नुभन्दा पैसा तिरेर कार्यालय जान रुचाएका छन्।
३० वर्षीया शुई झोउले डोङगुआनमा नक्कली कार्यालय चलाउने कम्पनीलाई दैनिक ३० युआन (४ अमेरिकी डलर) तिर्छिन्। त्यहाँ उनी पाँच 'सहकर्मी' सँग काम गरेको नाटक गर्छिन्। 'मलाई टिममा काम गरेजस्तो लाग्छ,' उनी भन्छिन्।
यस्ता कार्यालय शेन्जेन, सांघाई, नान्जिङ, वुहान, चेङ्दुजस्ता सहरमा छन्। तिनमा कम्प्युटर, इन्टरनेट, बैठक कोठा र चिया-कफी कोठा हुन्छ। दैनिक ३०-५० युआनमा जागिर खोज्ने, स्टार्टअप चलाउने वा अन्य काम गर्न सकिन्छ। कहिलेकाहीँ यो शुल्कमा खाना र पेय पदार्थ पनि पाइन्छ।
चीनमा युवा बेरोजगारीदर १४ प्रतिशतभन्दा माथि छ। यस वर्ष एक करोड २२ लाख स्नातक पढेकाहरू रोजगारीका लागि बजारमा आउँदैछन्, जुन हालसम्मकै उच्च हो। न्यूजील्याण्डको भिक्टोरिया विश्वविद्यालयका डा. क्रिश्चियन याओ भन्छन्, 'आर्थिक समस्या र शिक्षा-जागिर बजारको तालमेल नमिल्दा युवालाई यस्ता ठाउँ चाहिन्छ।'
शुईले सामाजिक सञ्जाल सियाओहोङ्शुबाट यो कार्यालयबारे थाहा पाइन्। उनले कार्यालयको फोटो अभिभावकलाई पठाएपछि उनीहरू ढुक्क भए। उनी बिहान ८-९ बजे पुग्छिन् र कहिले राति ११ बजेसम्म बस्छिन्। 'यहाँका मान्छे मेरा साथी बनेका छन्। हामी कुराकानी गर्छौं, ठट्टा गर्छौं, सँगै खाना खान्छौं,' उनी भन्छिन्। यो चलनले युवालाई सामाजिक दबाब र आत्मसम्मानको कमीबाट जोगाउँछ। यस्ता ठाउँमा नेटवर्किङको अवसर पनि मिल्छ, जसले भविष्यमा जागिर वा व्यवसायका ढोका खोल्न सक्छ।
नक्कली कार्यालय किन?
२३ वर्षीया सियाओवेन ताङले सांघाईमा एक महिना नक्कली कार्यालय भाडामा लिइन्। स्नातक गरेकी उनले स्थायी जागिर पाएकी छैनन्। उनको विश्वविद्यालयले स्नातक गरेको एक वर्षभित्र जागिर वा इन्टर्नशिप प्रमाण माग्छ, नत्र डिप्लोमा दिँदैन। उनले कार्यालयको फोटो पठाएर डिप्लोमा जोगाइन्। त्यहाँ बसेर उनले अनलाइन उपन्यास लेखिन् र केही आम्दानी गरिन्। 'अभिनय गर्नु छ भने अन्तिमसम्म गर्नुपर्छ,' उनी भन्छिन्।
जर्मनीको म्याक्स प्लाङ्क इन्स्टिच्युटका डा. बियाओ सियाङ भन्छन्, 'जागिरको अभावले निराश भएका युवाले समाजबाट अलग ठाउँ खोजेका छन्। यो चलन त्यही निराशाको उपज हो।'
डोङगुआनको नक्कली कार्यालयका मालिक फेयु (काल्पनिक नाम) भन्छन्, 'म सम्मान दिइरहेको छु। तपाईं बेकार होइन भन्ने सन्देश हो।' कोभिडमा उनको खुद्रा व्यवसाय बन्द भएपछि उनी निराश भएका थिए। उनले यो 'कामको नाटक' सुरु गरे र एक महिनामै सबै वर्कस्टेशन भरिए।
उनका ४० प्रतिशत ग्राहक हालै स्नातक भएकाहरू छन्, जो इन्टर्नशिप प्रमाणका लागि फोटो खिच्न आउँछन्। ६० प्रतिशत फ्रीलान्सर, डिजिटल घुमन्ते, ई-कमर्स कर्मचारी र अनलाइन लेखक छन्। ग्राहकको औसत उमेर ३० वर्ष छ। फेयु यो व्यवसायलाई सामाजिक प्रयोग मान्छन्। 'नक्कली कार्यालयलाई वास्तविक स्टार्टअप बनाउन सकियो भने यो सफल हुन्छ,' उनी भन्छन्।
शुईले आफ्नो समय एआई सीप सिक्नमा लगाइरहेकी छिन्। 'धेरै कम्पनीले भर्तीमा एआई दक्षता खोज्छन्। यो सीपले जागिर पाउन सजिलो हुन्छ,' उनी भन्छिन्। फेयुजस्ता सञ्चालकहरूले यस्ता कार्यालयलाई अस्थायी समाधान मात्र नभई युवालाई प्रेरणा र सीप विकासको मञ्च बनाउन चाहन्छन्। बीबीसी
प्रकाशित: २३ श्रावण २०८२ २१:३१ शुक्रबार





