५ आश्विन २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दुई राज्यको चुनावी नतिजाले मर्जमाथि दबाब

जर्मन चान्सलर फ्रेडरिक मर्जको नेतृत्वमाथि दुई राज्यको निर्वाचनमा उनको क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले बेहोरेको पराजयपछि दबाब बढेको छ।

मेक्लेनबर्ग-पश्चिमी पोमेरानियामा सीडीयू ५ प्रतिशतको सीमा पार गर्न नसकी राज्य संसदबाट बाहिरिएको छ भने बर्लिनमा वामपन्थी डाइ लिंकेभन्दा पछि परेको छ। पद सम्हालेको १६ महिनामै चुनावी धक्का बेहोरेपछि मर्जले आइतबार टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै आफू चान्सलर र सीडीयू अध्यक्षका रूपमा जिम्मेवारीमा रहने बताएका छन्।

मेक्लेनबर्ग-पश्चिमी पोमेरानियाको परिणामलाई उनले ‘विपत्ति’ को संज्ञा दिँदै देशलाई सुधारका लागि दृढता र धैर्य आवश्यक रहेको बताए। मेक्लेनबर्ग-पश्चिमी पोमेरानियामा आप्रवासनविरोधी अल्टरनेटिभ फर जर्मनी (एएफडी) ३७.९ प्रतिशत मतसहित पहिलो र सत्तारूढ सामाजिक लोकतान्त्रिक पार्टी (एसपीडी) करिब ३५ प्रतिशत मतसहित दोस्रो भएको छ।

सीडीयूले ४.९ प्रतिशत मत पाएको छ। बर्लिनमा डाइ लिङ्के २५.३ प्रतिशत मतसहित पहिलो, सीडीयू १९.१ प्रतिशतसहित दोस्रो र एएफडी १६.२ प्रतिशतसहित तेस्रो भएका छन्।

निर्वाचन परिणामपछि मर्जले जर्मनीका संस्थाप्रति जनविश्वास घटिरहेको र वाम तथा दक्षिण दुवै धारका कट्टरपन्थी दलले त्यसलाई कमजोर बनाइरहेको बताए। राजनीतिक विश्लेषकहरूले उनको तत्काल टेलिभिजन सम्बोधनलाई पार्टीभित्र उठ्न सक्ने नेतृत्वसम्बन्धी बहस रोक्ने प्रयासका रूपमा व्याख्या गरेका छन्।

सीडीयू नेतृत्वले निर्वाचनपछि बैठक गरेको छ। मर्जले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन न्युयोर्क जाने कार्यक्रम रद्द गरेका छन्। उनलाई पदबाट हटाउन सकिने चर्चा चलिरहेका बेला नर्थ राइन-वेस्टफालियाका मुख्यमन्त्री हेन्ड्रिक वुएस्ट र बाभेरियाका मुख्यमन्त्री मार्कस सोडरको नाम सम्भावित उत्तराधिकारीका रूपमा चर्चामा आएको छ। दुवैले भने खुला रूपमा दाबी गरेका छैनन्।

गत वर्ष पदभार ग्रहण गर्दा मर्जले कमजोर अर्थतन्त्र सुधार, जर्मन सेनाको क्षमता विस्तार र अनियमित आप्रवासन नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर गठबन्धन साझेदार एसपीडीसँग आर्थिक तथा सामाजिक सुधार अघि बढाउन उनलाई कठिनाइ भइरहेको छ। सरकारले पेन्सन प्रणालीमा सुधार, कर्मचारीतन्त्र घटाउने तथा न्यून र मध्यम आय भएकालाई आयकरमा राहत दिने योजना अघि सारेको छ।

यसअघि स्याक्सोनी-आनहाल्टमा पनि एएफडीले सीडीयूलाई पराजित गरेको थियो। पछिल्लो निर्वाचनपछि सीडीयूका आठ राज्यका नेताले मर्जलाई समर्थन गर्दै सरकारसँग मिलेर जनताका समस्या समाधान गर्न अघि बढ्ने बताएका छन्। एजेन्सी

प्रकाशित: ५ आश्विन २०८३ १४:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App