२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा दाइजो नल्याएको भन्दै श्रीमान् र सासू मिलेर जिउँदै जलाए बुहारी

सासू, ससुरा र जेठाजु फरार, श्रीमान् प्रहरी नियन्त्रणमा छोरा

भारतको ग्रेटर नोएडामा दाइजोका लागि एक महिलालाई जिउँदै जलाएर हत्या गरिएको घटना सार्वजनिक भएको छ। घटनाका प्रत्यक्षदर्शी उनकै ६ वर्षीय छोरा बनेका छन्।

श्रीमान् र सासूले गरेको अमानवीय यातनापछि आगोले जलिरहेकी महिला भर्याङबाट ओर्लिरहेको हृदयविदारक भिडियो पनि सार्वजनिक भएको छ।

आफ्नै आँखा अगाडि बुबा र हजुरआमाले आमालाई जिउँदै जलाएको देखेका बालकले रुँदै भने, ‘उनीहरूले पहिले मम्मालाई केही लगाए। त्यसपछि थप्पड हानेर लाइटरले आगो लगाइदिए।’

घटनामा २८ वर्षीया निक्की भाटीको मृत्यु भएको छ। उनको विवाह ९ वर्षअघि ग्रेटर नोएडाका विपिन भाटीसँग भएको थियो। निक्कीकी दिदी कञ्चन (जसको विवाह पनि सोही घरमा विपिनका भाइ रोहितसँग भएको थियो) का अनुसार, माइतीबाट ३६ लाख रुपैयाँ दाइजो ल्याउन नसकेपछि निक्कीलाई जिउँदै जलाइएको हो।

निक्कीको हत्या आरोपमा पक्राउ परेका उनका श्रीमान् विपिन भाटी प्रहरी हिरासतबाट भाग्ने प्रयास गर्दा गोली लागेर घाइते भएका छन्। प्रहरीका अनुसार, घटनामा प्रमाण जुटाउन विपिनलाई उनको घर लगिएको थियो, जहाँ उनले एक प्रहरीको पिस्तोल खोसेर भाग्ने प्रयास गरेपछि जवाफी कारबाहीमा उनको खुट्टामा गोली लागेको हो।

अस्पतालमा उपचाररत विपिनले आफूले केही नगरेको र श्रीमती आफैँ मरेको दाबी गरे। उनले भने, ‘श्रीमान्–श्रीमतीबीच झगडा सबैतिर हुन्छ। यो ठूलो कुरा होइन।’

घटनापछि निक्कीका बुबा भिकारी सिंह पायलाले भने, ‘उनीहरू हत्यारा हुन्, उनीहरूलाई गोली हान्नुपर्छ, घर भत्काइदिनुपर्छ।’ श्रीमान् विपिनलाई प्रहरीले गोली हानेको खबरपछि उनले भने, ‘म खुसी छु। यस्ता मानिसलाई गोली हान्नुपर्छ वा झुन्ड्याउनुपर्छ। उसको छातीमा गोली हान्नुपर्थ्यो।’

निक्कीकी दिदी कञ्चनले आफूलाई पनि दाइजोका लागि निरन्तर यातना दिइएको बताइन्। ‘उनीहरूले भन्थे, ‘एउटीको दाइजो पायौँ, अर्कीको खोइ ? तिमीहरू मरेकै राम्रो, हामी फेरि बिहे गर्छौं’,’ उनले भनिन्।

उनले आफूले बहिनीलाई बचाउन खोज्दाखोज्दै नसकेको र आफू बेहोस भएको बताइन्। ‘मैले भिडियो नबनाएको भए, मेरी बहिनी कसरी मरी भनेर कसैले थाहा पाउने थिएन,’ उनले भनिन्।

प्रहरीले दिदी कञ्चनको उजुरीका आधारमा श्रीमान् विपिन, जेठाजु रोहित भाटी, सासू दया र ससुरा सतवीरविरुद्ध मुद्दा दर्ता गरेको छ।

विपिन पक्राउ परेका छन् भने अन्य तीन जना फरार छन्। घटनापछि स्थानीयले ‘निक्कीलाई न्याय दे’ भन्दै प्रहरी चौकी बाहिर प्रदर्शन गरेका छन्।

प्रकाशित: ८ भाद्र २०८२ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App