३१ असार २०८३ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा घरेलु एलपीजीको मूल्य फेरि बढ्यो : प्रतिसिलिन्डर कति पुग्यो ?

भारतमा घरेलु एलपीजी सिलिन्डर २९ भारतीय रुपैयाँ (भारु) ले महँगो भएको छ। नयाँ दर आज (आइतबार) देखि लागू भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। दिल्लीमा १४.२ किलोग्राम ग्यास सिलिन्डरको मूल्य ९१३ भारुबाट बढेर ९४२ भारु पुगेको छ।

यो तीन महिनामा एलपीजीको मूल्यमा भएको दोस्रो वृद्धि हो। यसअघि मार्च ७ मा एलपीजी सिलिन्डरको मूल्य ६० भारुले बढाइएको थियो। यसरी तीन महिनाभित्र घरेलु सिलिन्डरको मूल्य ८९ भारुले महँगो भएको छ।

समाचार एजेन्सी पीटीआईकाका अनुसार तेल कम्पनीहरूले अन्तर्राष्ट्रिय बजारमा बढेको ऊर्जा लागत र घरेलु बिक्रीमा भएको नोक्सानीका कारण मूल्य बढाउनु परेको तर्क गरेका छन्। समाचार एजेन्सी पीटीआईले स्रोतहरूलाई उद्धृत गर्दै सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरूले प्रतिघरेलु सिलिन्डर लगभग ७०० भारु घाटा बेहोरिरहेको रिपोर्ट गरेको छ। मूल्य वृद्धिले यो घाटालाई आंशिक रूपमा मात्र क्षतिपूर्ति गर्नेछ।

पछिल्ला केही हप्ताहरूमा पेट्रोल, डिजेल र सीएनजीको मूल्य पनि बढेको छ। मे महिनामा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ७.५० भारुले बढेको छ, जबकि सीएनजी प्रतिकिलोग्राम लगभग ६ भारुले महँगो भएको छ। कम्पनीहरूले पेट्रोलमा प्रतिलिटर लगभग ११ भारु र डिजेलमा प्रतिलिटर ३३.६ भारुले घाटा बेहोरिरहेका छन्।

यसको बाबजुद पनि कम्पनीहरूले पेट्रोल र डिजेल अझै पनि लागतभन्दा कम मूल्यमा बिक्री भइरहेको दाबी गरेका छन्। नरेन्द्र मोदी नेतृत्वको सरकारले विश्वव्यापी मूल्य वृद्धिको पूर्ण भार उपभोक्ताहरूमा नपरेको दाबी गर्दै आएको छ। सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरूले बढ्दो कच्चा तेलको मूल्यको केही भार वहन गरिरहेका छन्।

अन्तर्राष्ट्रिय बजारमा एलपीजीको मूल्य कस्तो रहन्छ भन्ने कुराले यसको दर तय गर्न मुख्य भूमिका खेल्छ। यसका साथै, डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) को मूल्य कति छ भन्ने कुराले पनि यसमा प्रत्यक्ष प्रभाव पार्छ। ग्यासको अन्तिम मूल्य निर्धारण गर्दा यसको आयात, ढुवानी, बोटलिङ प्लान्ट र वितरणमा लाग्ने सम्पूर्ण लागतलाई थपिने गरिन्छ।

यी सबै पक्षहरूलाई ध्यानमा राख्दै तेल कम्पनीहरूले कुल लागत र बजारको वर्तमान अवस्था हेरेर ग्यासको मूल्य निर्धारण गर्छन्। यस प्रक्रियामा सरकारको कर र अनुदान सम्बन्धी नीतिहरूको पनि उत्तिकै प्रभाव रहन्छ। एजेन्सी

प्रकाशित: २४ जेष्ठ २०८३ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App