२५ आश्विन २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

दिल्ली प्रदर्शन : सामूहिक पक्राउविरुद्ध सर्वोच्चमा आकस्मिक सुनुवाइ

भारतको राजधानी दिल्लीमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै भएको प्रदर्शन रोक्न प्रहरीले हजारौंलाई हिरासतमा लिएको प्रकरणमा सर्वोच्च अदालतले आइतबार आकस्मिक सुनुवाइ गरिरहेको छ। 

प्रदर्शनकारीलाई जन्तर मन्तर पुग्न नदिइएपछि विपक्षी दलका नेता, विद्यार्थी, वकिल र कार्यकर्तासमेत नियन्त्रणमा परेका छन्। शनिबार सात हजारभन्दा बढी व्यक्तिलाई हिरासतमा लिइएको थियो।

ककरोच जनता पार्टी (सीजेपी) ले मतदाता नामावलीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै ज्ञानेश कुमारको राजीनामा माग्दै आएको छ।

प्रहरीले शनिबार प्रदर्शन रोक्न दिल्लीका विभिन्न स्थानमा कारबाही गरेको थियो। अब पार्टीले आइतबार (आज) पनि प्रदर्शन जारी राख्ने घोषणा गरेको छ।

भारतीय ससञ्चारमाध्यमका अनुसार सर्वोच्च अदालतले दिल्लीमा प्रदर्शनकारीलाई हिरासतमा लिने प्रहरीको कारबाही र सार्वजनिक यातायात अवरुद्ध गरिएको विषयमा दायर दुई निवेदनमाथि विशेष सुनुवाइ गरिरहेको छ।

न्यायाधीश जोयमाल्य बाग्ची र न्यायाधीश वी. मोहनाको इजलासले मेट्रो स्टेसन बन्द, रेल सेवा रद्द तथा नेताहरूको निवारक हिरासतसम्बन्धी याचिकाहरू हेर्दैछ।

एउटा निवेदनमा रेल सेवा र मेट्रो स्टेसन बन्द गरिएको विषय उठाइएको छ भने अर्कोमा विपक्षी नेताहरूलाई नियन्त्रणमा लिने कदमलाई चुनौती दिइएको छ।

निवेदनमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिकको मौलिक अधिकार भएको र त्यसलाई रोक्न निवारक हिरासतको प्रयोग गर्न नहुने तर्क गरिएको छ।

उता, प्रदर्शनअघि दिल्ली विमानस्थलबाट नियन्त्रणमा लिइएका सीजेपीका नेता अभिजीत दिप्के, आशुतोष रान्का र सौरभ दासलाई रिहा गरिएको छ। पार्टीका कानुनी मामिला प्रमुख रत्ना सिंहका अनुसार तीनै जनालाई एक वर्षसम्म शान्ति कायम राख्ने सर्तमा रिहा गरिएको हो। उनीहरूले ५० हजार भारतीय रुपैयाँको जमानत बुझाएर रिहा भएका हुन्।

शनिबार हिरासतमा लिइएका नेताहरूमा अरविन्द केजरीवाल, ममता बनर्जी, पिनारायी विजयन, नेहा बोरा, योगेन्द्र यादव र प्रशान्त भूषणलगायत छन्। युट्युबर ध्रुव राठीलाई पनि गुरुग्रामस्थित घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनलाई आइतबार रिहा गरिएको प्रहरी स्रोतले जनाएको छ।

दिल्ली प्रहरीले सुरक्षा चुनौती र पर्याप्त पूर्वसूचना नभएको कारण देखाउँदै प्रदर्शनका लागि अनुमति दिएको थिएन। प्रदर्शनलाई ध्यानमा राखेर राजधानीका विभिन्न क्षेत्रमा ठुलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको थियो।

यो पनि पढ्नुहोस्

एक गो*ली नचलाइकनै कसरी रोकियो ‘कक्रोच’ को प्रदर्शन ? यस्तो छ मोदी सरकारको सात बुँदे रणनीति

दिल्ली ट्राफिक प्रहरीले नयाँ दिल्ली र मध्य दिल्लीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुन सक्ने जनाएको छ। प्रहरीले यात्रुलाई रेलवे स्टेसन, बस टर्मिनल र विमानस्थल जाँदा अतिरिक्त समय छुट्याउन तथा अनावश्यक यात्रा नगर्न सुझाव दिएको छ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्चायुक्तको कार्यालयले दिल्लीमा प्रदर्शनका क्रममा सामूहिक रूपमा मानिसहरूलाई हिरासतमा लिइएको खबरप्रति चिन्ता जनाएको छ। भारतीय सरकारले भने यससम्बन्धी आरोप अस्वीकार गरी त्यसलाई अनुचित हस्तक्षेप भनेको छ।

प्रकाशित: २५ आश्विन २०८३ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App