भारतको राजधानी दिल्लीको भीडभाडपूर्ण क्षेत्रमा भएको घातक कार विस्फोटलाई देशको सरकारले ‘आतंकवादी घटना’ भनेको छ। सोमबार साँझ शहरको ऐतिहासिक लालकिल्ला नजिक भएको विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको र २० जना घाइते भएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीको मन्त्रिपरिषद्ले बुधबार साँझ सुरक्षा बैठकमा उक्त आक्रमणको निन्दा गर्दै यसलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको कायरतापूर्ण कृत्य’ भनेको छ।
अहिलेसम्म अधिकारीहरूले यस विस्फोटसँग सम्बन्धित कुनै व्यक्तिको नाम सार्वजनिक गरेका छैनन् र कुनै पक्राउ पनि भएको छैन।
बुधबार जारी वक्तव्यमा मन्त्रिपरिषद्ले भन्योः‘देशले एउटा घृणित आतंकवादी घटना देखेको छ, जुन राष्ट्रविरोधी शक्तिहरूद्वारा कार विस्फोटमार्फत् गरिएको हो।मन्त्रिपरिषद्ले निर्देशन दिएको छ कि यस घटनाको अनुसन्धान अत्यन्त तत्परताका साथ र पेशेवर ढङ्गले अगाडि बढाइयोस् ताकि दोषी, तिनका सहयोगी र प्रायोजकहरूलाई चाँडै पहिचान गरी न्यायको कठघरामा ल्याउन सकियोस्।’
मन्त्रिपरिषद्ले थप भन्यो, ‘यस क्रूर र कायरतापूर्ण कार्यले निर्दोष जनताको ज्यान लिएको छ, त्यसको हामी स्पष्ट रूपमा निन्दा गर्छौं।’
भारतीय सरकारले आतंकवादप्रति ‘शून्य सहनशीलता नीतिप्रति अडिग प्रतिबद्धता’ दोहो-याएको छ।
विस्फोट लालकिल्ला नजिकैको मेट्रो स्टेशन छेउमा भएको थियो, जुन दिल्लीका सबैभन्दा चर्चित स्थलहरू मध्ये एक हो। एजेन्सी
प्रकाशित: २७ कार्तिक २०८२ ०६:४२ बिहीबार





