भारतको आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवाती आँधी ‘अर्णब’को जोखिम बढेपछि ८९ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चक्रवात बुधबार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमानसँगै विपद् व्यवस्थापन टोलीहरू परिचालन गरिएको छ भने सावधानीस्वरूप कम्तीमा ६४ रेल रद्द गरिएका छन्।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार चक्रवात आन्ध्र प्रदेशको बापटला र विशाखापट्टनमबीच पुडुचेरीको यानम सहरनजिकै तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमान गरिएको छ। त्यसबेला प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरको गतिमा निरन्तर हावा चल्ने र अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुग्न सक्ने विभागले जनाएको छ।
मंगलबार भारतीय समयअनुसार दिउँसो २ः३० बजेसम्म चक्रवात विशाखापट्टनमबाट करिब १७० किलोमिटर दक्षिणमा केन्द्रित थियो। चक्रवातको प्रभावले मंगलबार र बुधबार आन्ध्र प्रदेशको तटीय क्षेत्र, यानम, ओडिशा र छत्तीसगढमा भारीदेखि अत्यधिक भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
मौसम विभागले प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन, आधिकारिक मौसम सूचना पछ्याउन र स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको छ। समुद्रको अवस्था कम्तीमा बिहीबार बिहानसम्म प्रतिकूल रहने अनुमान गरिएको छ।
८९ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा
चक्रवातको जोखिमलाई ध्यानमा राख्दै आन्ध्र प्रदेशको काकीनाडा तटीय क्षेत्रमा बसोबास गर्ने करिब ८९ हजार मानिसलाई राहत शिविरमा सारिएको ‘द हिन्दू’ले जनाएको छ। त्यस्तै, ओडिशाले मंगलबार साँझसम्म ४८ हजार मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनाएको भारतीय समाचार संस्था पीटीआईले उल्लेख गरेको छ।
सम्भावित विपद्को सामना गर्न भारतको राष्ट्रिय विपद् प्रतिकार्य बल ९एनडीआरएफ० ले प्रभावित हुन सक्ने राज्यमा ३१ टोली परिचालन गरेको छ। एनडीआरएफका उपमहानिरीक्षक मोहसेन शहेदीका अनुसार आन्ध्र प्रदेशमा १२, ओडिशामा नौ, छत्तीसगढमा चार, तेलंगानामा तीन र यानममा दुई टोली तैनाथ गरिएको छ।
यसका अतिरिक्त आन्ध्र प्रदेश र छत्तीसगढमा राज्य विपद् प्रतिकार्य बलका करिब ११ टोली परिचालन गरिएको छ। ओडिशामा राज्यको विपद् द्रुत प्रतिकार्य बलका ६० टोली तैनाथ गरिएको जनाइएको छ।
सावधानीस्वरूप ६४ रेल रद्द
चक्रवातका कारण रेल यातायातमा समेत असर परेको छ। ‘द हिन्दू’का अनुसार मंगलबार र बुधबार सञ्चालन हुने कम्तीमा ६४ रेल सावधानीस्वरूप रद्द गरिएका छन्।
रद्द गरिएका रेलका मार्गमा विजयवाडा–राजमुन्द्री, विजयवाडा–नरसापुर, विजयवाडा–मछिलीपट्टनम, विशाखापट्टनम–पार्वतीपुरम, मछिलीपट्टनम–गुडिवाडा, काकीनाडा पोर्ट–विशाखापट्टनम र गुंटुर–रेपल्ले रहेका छन्।
भारतका केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवले चक्रवातको जोखिमलाई ध्यानमा राख्दै करिब ६०० किलोमिटर रेलमार्गमा निगरानी बढाइएको बताएका छन्। उनले सम्भावित क्षति व्यवस्थापन र मर्मतका लागि आवश्यक सामग्रीसहितका राहत बग विभिन्न स्थानमा तयारी अवस्थामा राखिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका छन्।
हवाई उडानमा पनि असर पर्न सक्ने
भारी वर्षा र तीव्र हावाका कारण विशाखापट्टनमस्थित अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान तथा अवतरण प्रभावित हुन सक्ने विमानस्थल सञ्चालकले जनाएको छ।
यद्यपि, उडान रद्द भए–नभएकोबारे स्पष्ट विवरण सार्वजनिक भएको छैन । चक्रवात तटीय क्षेत्रमा प्रवेश गर्ने समय नजिकिँदै गर्दा प्रभावित राज्यहरूमा उद्धार, राहत तथा पूर्वतयारीका काम तीव्र पारिएको छ।
प्रकाशित: ११ कार्तिक २०८३ ११:४५ बुधबार





