८ भाद्र २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१० केजी तौल बढेपछि ट्रम्पको स्वास्थ्यबारे चिन्ता, डाक्टर भन्छन् : आगोसँग खेल्दैछन्

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तौल तीन वर्षमा १० केजीभन्दा बढी बढेपछि चिकित्सकहरूले उनको स्वास्थ्यबारे चिन्ता व्यक्त गरेका छन्। केही चिकित्सकले बढ्दो तौललाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

जानकारी अनुसार ट्रम्पको मे महिनामा गरिएको स्वास्थ्य परीक्षणमा तौल करिब १०८ केजी थियो। यो अघिल्लो वर्षको तुलनामा करिब ६.४ केजी बढी हो। सन् २०२३ मा जर्जियामा पक्राउ पर्दा उनको तौल करिब ९७.५ केजी रेकर्ड गरिएको थियो। यस हिसाबले तीन वर्षमा उनको तौल करिब १०.४ केजी बढेको हो।

राष्ट्रिय तौल तथा कल्याण केन्द्रका निर्देशक डा. स्कट कहानले मोटोपना विभिन्न स्वास्थ्य समस्याको बलियो जोखिम कारक भएको बताएका छन्।

उनले भने, ‘मोटोपना धेरै स्वास्थ्य समस्याका साथै समयअगावै अपांगता र मृत्युको बलियो जोखिम कारक हो। राष्ट्रपतिको स्वास्थ्य जोगाउन मोटोपनालाई सम्बोधन गर्नु उनको जीवनको सुरक्षा सुनिश्चित गर्नेजत्तिकै प्राथमिकताको विषय हुनुपर्छ।’

ट्रम्पलाई ह्वाइट हाउसका चिकित्सकहरूले खानपानमा सुधार गर्न र तौल घटाउन व्यायाम बढाउन सुझाव दिएका छन्। ट्रम्प म्याकडोनाल्ड र डाइट कोक मन पराउने व्यक्तिका रूपमा चिनिन्छन्। उनी राति अबेरसम्म खाजा खाने गरेको पनि रिपोर्ट गरिएको छ।

ट्रम्पको तौल बढेको विषयमा अन्य चिकित्सकले पनि चिन्ता व्यक्त गरेका छन्।

पूर्व आपतकालीन कक्षका चिकित्सक तथा अहिले इन्टर्निस्टका रूपमा काम गरिरहेका डा. स्टुअर्ट फिशरले जुनमा *डेली मेल*सँग कुरा गर्दै ट्रम्पसँग उनको तौलका विषयमा गम्भीर रूपमा कुरा गर्नुपर्ने बताएका थिए।

फिशरले भनेका थिए, ‘कसैले उनीसँग शान्त रूपमा बसेर कुरा गर्नुपर्छ र भन्नुपर्छ-तिमी आगोसँग खेल्दैछौ।’

उनले ट्रम्पका चिकित्सकहरूले तौलका विषयमा उनलाई पर्याप्त रूपमा बुझाउन नसकेको देखिनु पनि चिन्ताजनक भएको बताएका थिए।

ट्रम्पको स्वास्थ्यबारे उठेका प्रश्नलाई ह्वाइट हाउसले भने अस्वीकार गर्दै आएको छ। ह्वाइट हाउसका प्रवक्ता डेभिस इङ्गलले ट्रम्पको मानसिक तीक्ष्णता, ऊर्जा र काम गर्ने क्षमताको बचाउ गरेका छन्।

उनले भने, ‘राष्ट्रपति ट्रम्पको तीक्ष्णता, अतुलनीय ऊर्जा, अथक काम गर्ने क्षमता र पहुँच अघिल्लो प्रशासनमा देखिएको अवस्थाभन्दा बिल्कुलै फरक छ।’

इङ्गलले ट्रम्प अमेरिकी इतिहासकै सबैभन्दा तीक्ष्ण र पहुँचयोग्य राष्ट्रपति भएको तथा समस्या समाधान गर्न र आफ्ना प्रतिबद्धता पूरा गर्न निरन्तर काम गरिरहेको बताएका छन्।

स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी जुनियरले पनि यसअघि ट्रम्पको खानपानबारे टिप्पणी गरेका थिए।

पोडकास्टर केटी मिलरसँगको कुराकानीमा उनले ट्रम्पले म्याकडोनाल्ड, क्यान्डी र डाइट कोक धेरै खाने गरेको बताएका थिए। उनले ट्रम्पको खानपान निकै खराब रहेको भन्दै आफूलाई उनी कसरी जीवित छन् भन्ने अचम्म लाग्ने बताएका थिए।

ट्रम्पले भने आफ्नो तौललाई लिएर पटकपटक ठट्टा गर्दै आएका छन्। जुनमा तौल घटाउने औषधि जीएलपी-१ लाई थप पहुँचयोग्य बनाउने नीतिको घोषणा गर्दा उनले आफूले त्यस्तो औषधि नखाएको बताएका थिए। त्यस क्रममा उनले ‘सायद मैले लिनुपर्छ’ भन्दै ठट्टा गरेका थिए।

जुलाईमा सेकेन्ड लेडी उषा भान्सको पोडकास्टमा सहभागी हुँदा ट्रम्पले आफ्नो तौललाई पूर्वराष्ट्रपति विलियम हावर्ड टाफ्टसँग तुलना गरेका थिए।

उनले ठट्टा गर्दै भनेका थिए, ‘उनी हाम्रो सबैभन्दा मोटो राष्ट्रपति थिए। म सावधान हुनुपर्छ, किनकि म उनको रेकर्ड तोड्न चाहन्नँ।’

ट्रम्पको तौल पहिलो कार्यकालमा पनि चर्चामा आएको थियो। त्यतिबेला उनको तौल करिब ११० केजी थियो। ६ फिट ३ इन्च उचाइ भएका ट्रम्पको उक्त तौल बीएमआईका आधारमा मोटोपनाको श्रेणीमा परेको थियो।

त्यतिबेला ट्रम्पले आफ्ना चिकित्सक डा. रोनी ज्याक्सनसँग खानपानमा सुधार गरेर करिब ४.५ देखि ६.८ केजी तौल घटाउन चाहेको बताएका थिए।

सन् २०२१ मा ह्वाइट हाउस छाडेपछि ट्रम्प पहिलेभन्दा केही पातलो देखिएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रकाशित: ८ भाद्र २०८३ ०९:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App