सिंगापुरमा ६३ वर्ष उमेर पुगेका एक कर्मचारीलाई कानुनविपरीत जागिरबाट हटाउने कम्पनीले ठूलो रकम क्षतिपूर्तिस्वरूप तिर्नुपर्ने भएको छ।
रोजगार दावी न्यायाधिकरणले कर्मचारीको पक्षमा फैसला सुनाउँदै कम्पनीलाई २६ हजार ३५० सिंगापुर डलर तिर्न आदेश दिएको हो। ६३ वर्ष उमेर पुगेको केही समयपछि कम्पनीले ती कर्मचारीलाई कुनै पूर्वसूचना र तलब सुविधा नदिएर जागिरबाट हटायो। कम्पनीले ती व्यक्ति अवकाश उमेरमा पुगेकाले बर्खास्त गर्नु कानुनी भएको दाबी गरेको थियो। साथै, कम्पनीले उनलाई पुनः रोजगारीको प्रस्ताव गरेको तर उनले अस्वीकार गरेकाले कुनै पनि थप रकम दिनुनपर्ने जिकिर गर्यो।
तर, न्यायाधिकरणका मजिस्ट्रेट जोएल टानले कम्पनीको यो दाबीलाई अस्वीकार गरिदिए। उनले फैसलामा भने, ‘अवकाशको उमेर पुगेपछि जागिरबाट हटाउन चाहने कम्पनीले कानुनअनुसार अनिवार्य रूपमा पूर्वसूचना वा तलब दिनुपर्छ।’ मजिस्ट्रेट टानले कम्पनीको प्रक्रियामा गम्भीर त्रुटि रहेको औंल्याए। कम्पनीले कर्मचारीसँग पर्याप्त छलफल नै नगरी १० दिनको छोटो समयभित्रै बर्खास्तीको प्रक्रिया टुंग्याएको थियो। कानुनी नियमअनुसार पुनः रोजगारीको प्रस्ताव कम्तीमा एक वर्षको हुनुपर्नेमा कम्पनीले ६ महिनाको मात्र प्रस्ताव गरेको थियो।
मजिस्ट्रेट टानले थप भने, ‘कम्पनीले कर्मचारीलाई अवकाश हुनुभन्दा कम्तीमा ६ महिनाअघि नै पुनः रोजगारीको विषयमा छलफल गर्नुपर्छ। यस्तो छलफलको उद्देश्य काम, तालिम र तलबका विषयमा स्पष्ट कुराकानी गर्नु हो।’ अदालतले कम्पनीको व्यवहारलाई अपारदर्शी र असभ्य ठहर गरेको छ। मजिस्ट्रेटले भने, ‘रोजगारदाताले यस्ता संवेदनशील कुरामा कर्मचारीलाई सम्मान र खुलापनका साथ व्यवहार गर्नुपर्छ।’
न्यायाधिकरणले कर्मचारीको मागबमोजिम गलत बर्खास्तीको क्षतिपूर्तिबापत ११ हजार ६०० सिंगापुर डलर र रोजगार सहायताका लागि १४ हजार ७५० सिंगापुर डलर गरी कुल २६ हजार ३५० सिंगापुर डलर भुक्तानी गर्न आदेश दियो।
यसबाहेक कम्पनीले अदालतको शुल्कबापत थप ३२० सिंगापुर डलर पनि तिर्नुपर्ने भएको छ। रोजगार दावी न्यायाधिकरणका मुद्दाहरू गोप्य रूपमा सुनुवाइ हुने भएकाले ती कर्मचारी र कम्पनीको नाम भने सार्वजनिक गरिएको छैन।
प्रकाशित: ३० असार २०८३ २०:०७ मंगलबार




-600x400.jpg)
