चिनियाँ विदेशमन्त्री वाङ यी र क्यानडाका उच्च अधिकारीहरूबिच ओटावामा द्विपक्षीय सम्बन्ध सुधारका विषयमा महत्त्वपूर्ण छलफल भएको छ।
विगत १० वर्षभन्दा बढी समयपछि चिनियाँ विदेशमन्त्रीको यो पहिलो क्यानडा भ्रमण हो, जसलाई दुई देशबिचको सम्बन्ध सुधारको एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। तीन दिने भ्रमणका क्रममा रहेका विदेशमन्त्री वाङले शुक्रबार दिउँसो एक निजी भेटघाट अघि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीसँग हात मिलाएका थिए।
क्यानडाकी विदेशमन्त्री अनिता आनन्दले मन्त्री वाङ यीलाई क्यानडामा स्वागत गर्दै दुई देशबिचको सञ्चार र संवादलाई निरन्तरता दिनु आवश्यक रहेको बताइन्। उनले आगामी जुलाईमा आयोजना हुने आसियान शिखर सम्मेलनका क्रममा मन्त्री वाङ यीसँग पुनः भेटवार्ता गर्ने सहमति भएको समेत जानकारी दिइन्।
भ्रमणका क्रममा क्यानडा र चीनबिच आर्थिक साझेदारीलाई थप बलियो बनाउने सहमति भएको छ। आगामी चीन अन्तर्राष्ट्रिय आयात प्रदर्शनीमा क्यानडा ‘सम्मानित देश’ को रूपमा सहभागी हुने तय भएको छ। यसका साथै, आगामी शरद ऋतुमा क्यानडाले चीनमा एक विशेष रचनात्मक उद्योगको व्यापारिक मिसन पठाउने घोषणा समेत गरेको छ। दुवै देश कृषि, स्वच्छ प्रविधि, ऊर्जा र उत्पादन जस्ता प्रमुख क्षेत्रहरूमा मिलेर काम गर्न सहमत भएका छन्।
चीन क्यानडाको दोस्रो ठूलो व्यापारिक साझेदार हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखिको सहयोगी क्यानडामाथि कर लगाएपछि प्रधानमन्त्री कार्नीले संयुक्त राज्य अमेरिकामाथिको आफ्नो देशको अत्यधिक निर्भरता कम गर्न खोजेका छन्। अमेरिकासँग चलिरहेको व्यापार युद्धको बिचमा, कार्नीले अर्को दशकमा अन्य बजारहरूमा क्यानाडाली निर्यात दोब्बर गर्ने वाचा गरेका छन् र गत वर्ष २० भन्दा बढी आर्थिक तथा सुरक्षा सम्झौताहरूमा हस्ताक्षर गरिसकेका छन्।
यसअघि बिहीबार कार्नीले न्यूयोर्कमा एक भाषण दिँदै अमेरिकासँग ‘नयाँ साझेदारी’ को लागि आह्वान गर्दै बलियो क्यानडाले ‘अमेरिकालाई फेरि महान बनाउन मद्दत गर्ने’ बताएका थिए।
भेटवार्ताका क्रममा चीनका विदेशमन्त्री वाङ यीले क्यानडाले सन् २०३० सम्म चीनमा निर्यात ५० प्रतिशतले बढाउने आफ्नो लक्ष्य सजिलै पार गर्न सक्ने बताए। दुई देशबिचको वर्तमान गतिलाई हेर्दा क्यानडाको चीनतर्फको निर्यात १०० प्रतिशत (दोब्बर) ले बढ्न सक्ने वाङको भनाइ थियो।
बैठकमा विदेशमन्त्री आनन्दले भनिन्, ‘क्यानडा हाम्रो अर्थतन्त्र बढाउन र हाम्रो व्यापारिक सम्बन्धलाई विविधीकरण गर्नमा केन्द्रित छ। क्यानडा–चीन आर्थिक सम्बन्ध महत्त्वपूर्ण छ।’
यसअघि सन् २०१७ पछि चीन भ्रमण गर्ने पहिलो क्यानेडाली प्रधानमन्त्री कार्नी बनेपछि क्यानडा र चीनले गत जनवरीमा विद्युतीय सवारी साधन र क्यानोलामा लाग्ने भन्सार कर घटाउन प्रारम्भिक व्यापार सम्झौता गरेका थिए।
सम्बन्धमा रहेका संवेदनशील मुद्दाहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न दुवै देशका विदेशमन्त्रीहरू वर्षमा कम्तिमा एक पटक अनिवार्य रूपमा भेट्न प्रतिबद्ध भएका छन्। बैठकपछि जारी गरिएको विज्ञप्तिमा आनन्दको कार्यालयले दुई नेताहरूले व्यापार, मानव अधिकार र विदेशी हस्तक्षेप लगायतका विस्तृत विषयहरूमा ‘स्पष्ट र रचनात्मक तरिकाले’ छलफल गरेको जनाएको छ।
विगत केही समययता चिसिएको सम्बन्धलाई ट्र्याकमा ल्याउन राष्ट्रिय सुरक्षाका मुद्दाहरूमा पनि संवादको ढोका पुनः खोल्ने निर्णय भएको छ। ‘दुवै मन्त्रीहरूले सहयोगलाई गहिरो बनाउन र सम्भव भएसम्म बाधाहरू हटाउन सबै तहमा स्थिर र भरपर्दो सञ्चार माध्यमहरू कायम राख्नुको महत्त्व दोहोर्याए,’ आनन्दको कार्यालयले भन्यो।
यसैगरी, अधिकारी मार्क कार्नीले यस वर्षको सुरुमा भएको आफ्नो चीन भ्रमणको प्रगतिलाई स्मरण गर्दै क्यानडा र चीनले अझ स्थिर र रचनात्मक साझेदारी निर्माण गरिरहेको बताए। प्रशान्त महासागरका दुवै छेउमा रहेका यी दुई देशले नयाँ अवसरहरू सिर्जना गर्दै आर्थिक समृद्धितर्फ ध्यान केन्द्रित गरेको उनको भनाइ छ।
चिनियाँ विदेशमन्त्रीको यो ओटावा भ्रमण मे २३ मा क्यानेडियन युद्धपोत ‘हज म्याजेस्टिज क्यानेडियन सिप चार्लोटटाउन’ ले ताइवान जलडमरू हुँदै नियमित ट्रान्जिट पूरा गरेलगत्तै भएको हो। चीनले शुक्रबार ‘नेभिगेसनको स्वतन्त्रताको बहानामा’ कुनै पनि देशले आफ्नो सार्वभौमसत्ता र सुरक्षालाई कमजोर पार्ने कुनै पनि प्रयासको दृढतापूर्वक विरोध गर्ने स्पष्ट पारेको छ। चीनले लोकतान्त्रिक रूपमा शासित ताइवान र रणनीतिक ताइवान जलडमरूमाथि आफ्नो सार्वभौमिकता दाबी गर्छ, जसलाई ताइपेईले अस्वीकार गर्दै आएको छ।
यसै महिनाको सुरुमा, कन्जरभेटिभ क्यानेडियाली सांसद माइकल चोङले ताइवानको यात्रा गरी ताइवानी राष्ट्रपति डा. लाइ चिंग–ते र अन्य वरिष्ठ अधिकारीहरूसँग भेटेका थिए। ताइवान भ्रमण गर्ने राजनीतिज्ञहरूको बारेमा क्यानडाका लागि चिनियाँ राजदूतले दिएको चेतावनीपछि चोङले एक विज्ञप्ति जारी गर्दै आफ्नो भ्रमणको उद्देश्य ‘जनवादी गणतन्त्र चीनबाट धम्कीको अग्रपंक्तिमा रहेको लोकतन्त्रसँग ऐक्यबद्धता देखाउनु’ र क्यानडाको सार्वभौमिकतालाई जोड दिनु रहेको बताएका थिए।
लामो समयको कूटनीतिक गतिरोध र ताइवान मामिलाको टकरावका बिच भएको चिनियाँ विदेशमन्त्रीको यो क्यानडा भ्रमणले दुई ठूला अर्थतन्त्रबिचको आर्थिक सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ। एजेन्सी
प्रकाशित: १६ जेष्ठ २०८३ १०:४६ शनिबार





