चीनले भारतका तीन प्रमुख चिन्ता (दुर्लभ खनिज तत्व, मल र टनेल बोरिङ मेसिन) को आवश्यकतालाई सम्बोधन गर्ने वाचा गरेको छ।
स्रोतअनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई चीनले भारतका यी तीन आवश्यकता पूरा गर्न सहयोग गर्ने आश्वासन दिएका हुन्।
चिनियाँ विदेशमन्त्री दुई दिने भ्रमणका लागि सोमबार भारत पुगेका थिए।
यसअघि सोमबार भारतका विदेशमन्त्री जयशङ्करले आफ्नो प्रारम्भिक टिप्पणीमा ‘आर्थिक र व्यापारिक मुद्दा, तीर्थयात्रा, जनता–जनताबिचको सम्पर्क, नदी डाटा साझेदारी, सीमा व्यापार, कनेक्टिभिटी र द्विपक्षीय आदानप्रदान’ मा छलफल हुने बताएका थिए।
उनीहरूले यस वर्ष जुलाईमा भएको चीन भ्रमणको क्रममा उठाइएका चिन्तालाई पनि पछ्याए। चिनियाँ विदेशमन्त्रीसँगको भेटमा जयशङ्करले भारत–चीन सम्बन्धका विभिन्न पक्ष र आयामबारे जोड दिए।
‘यस सन्दर्भमा प्रतिबन्धात्मक व्यापार उपाय र अवरोधबाट बच्न आवश्यक छ। भारत र चीनबिचको स्थिर र रचनात्मक सम्बन्ध हाम्रो मात्र होइन, विश्वकै फाइदाका लागि हो। आपसी सम्मान, आपसी हित र संवेदनशीलताको आधारमा सम्बन्ध सम्हाल्दा यो अझ राम्रो हुन्छ,’ उनले भने, ‘मतभेद विवाद वा प्रतिस्पर्धाको द्वन्द्वमा बदलिनु हुँदैन।’
चिनियाँ विदेशमन्त्रीको भारत भ्रमणले दुई देशलाई द्विपक्षीय सम्बन्धको समीक्षा गर्ने र विश्वव्यापी अवस्था तथा आपसी हितका मुद्दामा विचार आदानप्रदान गर्ने अवसर दिएको उनले बताए।
पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चिनियाँ सेनाको गतिविधिले उत्पन्न गतिरोधपछि भारत–चीन सम्बन्ध बिग्रिएको थियो। यो गतिरोध सन् २००० अप्रिल–मेमा सुरु भएको हो, जसमा केही घर्षण बिन्दुबाट सेना फिर्ता गर्ने सम्झौतापछि केही तनाव घटेको छ।
सन् २०२४ को ब्रिक्स शिखर सम्मेलनअघि भारत र चीनले एलएसीमा गस्ती व्यवस्था गर्ने सहमति गरे।
हालका महिनामा दुवै देशले सम्बन्ध सुधार गर्न कदम चालेका थिए। भारतले पूर्वी लद्दाखमा एलएसीमा ‘डि–एस्केलेसन’ (तनाव घटाउने प्रक्रिया) अघि बढाउनुपर्नेमा जोड दिएको छ।
युक्रेन युद्धको समाधान खोज्ने प्रयास र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको करका कारण उत्पन्न भू–राजनीतिक उतारचढावबिच जयशङ्करले विश्वव्यापी अर्थतन्त्रमा स्थिरता बढाउन आवश्यक रहेको बताए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अगस्ट ३१ मा तियानजिनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनको उद्घाटनमा भाग लिन जानेछन्। यो सन् २०१८ पछि उनको पहिलो चीन भ्रमण हुनेछ। एएनआई
प्रकाशित: ३ भाद्र २०८२ १५:२७ मंगलबार





