१ असार २०८३ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘विश्वव्यापी शिक्षाको नयाँ केन्द्रका रूपमा उदाउँदै चीन’

विश्वव्यापी शिक्षाको नयाँ केन्द्रका रूपमा चीन उदाइरहेको दाबीसहित एक प्रतिवेदन सार्वजनिक भएको छ। 

चीनको सिन्ह्वा इन्स्टिच्युटले शनिबार एक प्रतिवेदन सार्वजनिक गरेको थियो। ‘चीनमा अध्ययन: मानवताको लागि साझा भविष्य भएको समुदायको निर्माणमा योगदान’ शीर्षकको उक्त प्रतिवेदनले विश्वव्यापी शिक्षाको क्षेत्रमा चीनको बढ्दो भूमिका र रणनीतिक प्रयासबारे उल्लेख गरिएको छ।

प्रतिवेदनमा शिक्षा क्षेत्रमा चीनले अपनाएको खुलापन, ‘स्टडी इन चीन’ ब्रान्डको विकास र विश्वव्यापी शिक्षा शासनमा उसको सक्रिय सहभागितालाई जोड दिइएको छ। चीनको शैक्षिक सहयोग सञ्जाल विस्तार भएसँगै उसको मित्रहरूको सर्कल पनि फराकिलो हुँदै गएको प्रतिवेदनमा उल्लेख छ। यसले गर्दा चीन विश्वव्यापी शिक्षा बजारमा एउटा नयाँ र शक्तिशाली केन्द्रको रूपमा उदाएको दाबी गरिएको छ।

प्रतिवेदनका अनुसार चीनले आफ्नो शैक्षिक क्षमतालाई सुदृढ बनाउँदै आधुनिकीकरणलाई तीव्रता दिएको छ। आर्थिक र सामाजिक विकाससँगै शैक्षिक प्रगतिलाई पनि अगाडि बढाएकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि चीन एउटा सुरक्षित र भरपर्दो शैक्षिक गन्तव्य बनेको प्रतिवेदनले उल्लेख गरेको छ। समावेशी दृष्टिकोण र विश्वस्तरीय स्रोतहरूको उपलब्धताले गर्दा विदेशी विद्यार्थीहरूमाझ चीनको आकर्षण बढ्दो रहेको यसले जनाएको छ।

यसमा चीनका राष्ट्रपति सी चिनपिङले चीनलाई विश्वव्यापी शिक्षाको केन्द्र बनाउन उनले खेलेको नेतृत्वदायी भूमिका र मार्गदर्शक विचारहरूलाई श्रय दिइएको छ। राष्ट्रपति सीले शिक्षा क्षेत्रको थप आधुनिकीकरण र ‘भित्र्याउने’ तथा ‘बाहिर लैजाने’ प्रयासहरूलाई समन्वय गरी नयाँ युगका लागि स्पष्ट खाका तयार गरेको भनिएको छ। 

विशेषगरी, उनले चिनियाँ भाषाको अन्तर्राष्ट्रिय शिक्षालाई सभ्यताहरूबिचको आपसी विश्वास र समझदारी निर्माण गर्ने माध्यमको रूपमा जोड दिएका छन्। ‘सिनोलोजी’ लाई विश्वको साझा सांस्कृतिक सम्पत्तिको रूपमा परिभाषित गरेका छन्। साथै, आगामी पाँच वर्षमा ५० हजार अमेरिकी युवाहरूलाई चीनमा शैक्षिक आदानप्रदानका लागि आमन्त्रण गर्ने उनको पहलले विश्वव्यापी शैक्षिक सहकार्य र ‘मानवताको साझा भविष्य’ निर्माणमा महत्वपूर्ण योगदान पुऱ्याएको दाबी प्रतिवेदनो छ। 

प्रतिवेदनका अनुसार विविध शैक्षिक कार्यक्रम, विस्तारित आदानप्रदानका माध्यम र सुदृढ सहयोग संयन्त्रका कारण चीनमा अन्तर्राष्ट्रिय शिक्षाको एउटा जीवन्त स्वरूप तयार भएको छ। चीनले आफ्नो उच्च(गुणस्तरको शैक्षिक स्रोतको प्रयोग गर्दै विश्वभरका युवाहरूलाई चीनको विकासबाट लाभ लिन र यहाँको वास्तविकता बुझ्न एउटा बलियो मञ्च प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ।

विभिन्न सभ्यताहरूबिचको सम्बन्ध र एकीकरणलाई बढावा दिने यो पहलले चिनियाँ ज्ञान र अनुभवलाई नयाँ पुस्तामार्फत विश्वभर पुऱ्याउन मद्दत गरेको छ। यसले फरक सभ्यताहरूबिच आपसी सिकाइ र संवादका लागि नयाँ पुलको काम गरेको प्रतिवेदनले थपेको छ। करिब १६ हजारभन्दा बढी अक्षरमा तयार पारिएको यो पूर्ण प्रतिवेदन चिनियाँ र अन्य भाषामा वेबसाइट, जर्नल र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको छ। एजेन्सी

प्रकाशित: १३ वैशाख २०८३ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App