अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर लगाउने धम्की दिएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले चीनसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने कुनै योजना नभएको स्पष्ट पारेका छन्।
कार्नीका अनुसार क्यानडाले चीनसँग स्वतन्त्र व्यापार सम्झौता गर्ने कुनै मनसाय राखेको छैन। यो बयान राष्ट्रपति ट्रम्पले क्यानडाले बेइजिङसँग व्यापार सम्झौता अगाडि बढाएमा क्यानडाबाट आयात हुने सामानमा १०० प्रतिशत कर लगाउने धम्कीपछि आएको हो।
कार्नीले चीनसँगको हालैको सम्झौताले केही क्षेत्रमा कर घटाएको मात्र उल्लेख गरेका छन्। ट्रम्पले भनेका थिए, ‘चीनले एक समयको महान् देश क्यानडालाई सफलतापूर्वक र पूर्ण रूपमा कब्जा गरिरहेको छ। यो भएको देख्दा धेरै दुःख लाग्छ। मलाई आशा छ कि उनीहरूले आइस हक्कीलाई एक्लै छोड्नेछन्!’
प्रधानमन्त्रीले अमेरिका र मेक्सिकोसँगको सम्झौता अन्तर्गत गैर–बजार अर्थतन्त्रहरूसँग स्वतन्त्र व्यापार सम्झौता अगाडि बढाउन नदिने कुरामा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। ‘चीन वा अन्य कुनै गैर–बजार अर्थतन्त्रसँग त्यसो (स्वतन्त्र व्यापार) गर्ने हाम्रो कुनै मनसाय छैन,’ कार्नीले भने, ‘हामीले चीनसँग गरेको काम भनेको विगत केही वर्षमा विकसित भएका केही समस्याहरूलाई सुधार गर्नु हो।’
सन् २०२४ मा क्यानडाले चिनियाँ विद्युतीय सवारीमा १०० प्रतिशत र स्टिल तथा आल्मुनियममा २५ प्रतिशत कर लगाएको थियो। चीनले पनि क्यानेडियन क्यानोला तेल, खाना, सुँगुर र समुद्री खानामा प्रतिकार कर लगाएको थियो। यस महिना चीन भ्रमणमा कार्नीले चिनियाँ विद्युतीय कारमा १०० प्रतिशत कर कटौती गरेर क्यानेडियन उत्पादनमा कम करको बदलामा सम्झौता गरेका छन्।
केही साता पहिले चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटपछि कार्नीले चिनियाँ ईभी निर्यातमा प्रारम्भिक ४९ हजार सवारीको सीमा राखेको बताएका थिए। उनका अनुसार पाँच वर्षमा बढेर ७० हजारमा पुग्नेछ। यो क्यानडामा वार्षिक १८ लाख सवारी बिक्रीको करिब ३ प्रतिशत मात्रै हो। बदलामा चीनले तीन वर्षभित्र क्यानेडियन अटो उद्योगमा लगानी गर्ने अपेक्षा गरिएको छ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाको अटो उद्योग अमेरिकी पहुँचबिना नहुने र चीन सम्झौता विपत्ति हुने चेतावनी दिएका थिए। अमेरिकाले क्यानडालाई चीनको लागि ‘ड्रप अफ पोर्ट’ बन्न नदिने स्पष्ट पारेको हो।
यो तनाव डाभोसमा कार्नीको भाषणपछि बढेको हो, जहाँ उनले मध्य शक्तिहरू मिलेर ठुला शक्तिको जबरजस्तीविरुद्ध उभिनुपर्ने बताएका थिए। ट्रम्पले ग्रीनल्याण्ड प्राप्त गर्ने प्रयास र क्यानडालाई ५१औं राज्य बनाउने सुझाव दिएपछि यो वाकयुद्ध तीव्र बनेको छ। पछिल्लो पटक कार्नीले ट्रम्पले कर लगाउन चाहेका आफूले केही गर्न नसक्ने भन्दै जनतालाई स्वदेशी उत्पादन अपनाउन अनुरोध गरेका थिए। एजेन्सी
प्रकाशित: १२ माघ २०८२ ०८:०९ सोमबार





