२१ असार २०८३ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इबोला प्रकोप : क्यानडाले सीमा सुरक्षामा गर्यो कडाइ

क्यानडा सरकारले इबोला भाइरस देशभित्र प्रवेश गर्न सक्ने जोखिमलाई न्यूनीकरण गर्न अस्थायी सीमा सुरक्षा उपायहरू लागू गरेको घोषणा गरेको छ।

क्यानडाको जनस्वास्थ्य एजेन्सीका अनुसार कंगोमा देखिएको इबोला प्रकोप तथा युगान्डा र दक्षिण सुडानमा बढ्दो संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार राति ११ः५९ बजेदेखि ती देशका बासिन्दाका लागि आप्रवासनसम्बन्धी कागजात ९० दिनका लागि निलम्बन गरिने भएको हो।  

साथै पहिले स्वीकृत भएका अस्थायी निवासी भिसा, इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (ईटीए) वा स्थायी आवासीय भिसा भएका व्यक्तिहरूलाई पनि क्यानडा यात्रा गर्न अस्थायी प्रतिबन्ध लगाइने बताएको छ । साथै उक्त देशहरुबाट आउने नयाँ आवेदनहरूको प्रक्रिया समेत रोकिएको छ।  

सरकारले मे ३० देखि अगस्ट २९ सम्म लागू हुने अर्को विशेष व्यवस्थाअन्तर्गत क्यानेडियन नागरिक, स्थायी बासिन्दा, भारतीय ऐनअन्तर्गत दर्ता भएका व्यक्ति तथा पछिल्लो २१ दिनभित्र प्रभावित क्षेत्र भ्रमण गरेका तर लक्षण नदेखिएका विदेशी नागरिकलाई अनिवार्य २१ दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।   

क्यानडा सरकारले हाल उत्तर अमेरिकामा इबोलाको कुनै पुष्टि नभएको र क्यानडामा जोखिम न्यून रहेको भन्दै रोगको गम्भीरता तथा आगामी अन्तर्राष्ट्रिय गतिविधि, विशेषगरी फिफा विश्वकपजस्ता ठूला कार्यक्रमलाई मध्यनजर गर्दै सावधानी अपनाइएको जनाएको छ।  

विश्व स्वास्थ्य संगठनका अनुसार इबोला एक गम्भीर तथा प्रायः घातक रोग हो, जसले मानिस र अन्य प्रजातिलाई असर गर्छ। यो भाइरस संक्रमित जनावरबाट मानिसमा सर्ने र त्यसपछि संक्रमित व्यक्तिको रगत, शारीरिक तरल पदार्थ वा दूषित सामग्रीमार्फत फैलिने गर्दछ।  

इबोलाको औसत मृत्युदर करिब ५० प्रतिशत रहेको छ भने विगतका प्रकोपहरूमा यो दर २५ देखि ९० प्रतिशतसम्म पुगेको थियो। 

सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपबाट हजारौँ मानिसहरुको मृत्यु भएको कारण इतिहासकै सबैभन्दा ठूलो तथा जटिल प्रकोप मानिन्छ।  

प्रकाशित: १३ जेष्ठ २०८३ १३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App