क्यानडाको यातायात नियामक ट्रान्सपोर्ट क्यानडाले एयर इन्डियालाई मदिरा सेवन गरेका पाइलट विमानबाट निकालिएको घटनाको अनुसन्धान गर्न आग्रह गरेको छ।
रोयटर्सका अनुसार गत डिसेम्बर २३ मा भ्यानकुभरबाट दिल्ली (भियना हुँदै) जाने उडान एआई१८६ मा एक पाइलट मदिरा सेवन गरी ड्युटीमा आएको र दुई ब्रेथलाइजर परीक्षणमा असफल भएको घटनाको अनुसन्धान गर्न अनुरोध गरिएको हो।
नाम नखुलाउने सर्तमा यस विषयसँग परिचित एक व्यक्तिले पाइलटलाई विमान छोड्न भनिएपछि क्यानाडाली प्रहरीले भ्यानकुभर अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गरेको बताएका छन्।
ट्रान्सपोर्ट क्यानडाले डिसेम्बर २४ को पत्रमा यो घटनालाई ‘गम्भीर विषय’ भनेको छ। अधिकारीहरूले कारबाही अगाडि बढाउने सम्भावना रहेको ती व्यक्तिले बताए। पत्रमा यहीँ जनवरी २६ सम्म यस्ता घटना हुन नदिन गरिएका कदमहरूको विवरण पेश गर्न भनिएको छ।
एक विज्ञप्तिमा एयर इन्डियाले डिसेम्बर २३ मा भ्यानकुभरबाट दिल्लीको उडान घटनाका कारण अन्तिम समयमा ढिलाइ भएको पुष्टि गरेको छ। उसले वैकल्पिक पाइलटमार्फत उडान सञ्चालन गरिएको बताएको थियो।
‘जाँचको प्रक्रियाको क्रममा पाइलटलाई उडान ड्युटीबाट हटाइएको छ। एयर इन्डियाले लागू हुने नियम र विनियमहरूको कुनै पनि उल्लङ्घनप्रति शून्य-सहिष्णुता नीति कायम राख्छ,’ एयर इन्डियाले भनेको थियो, ‘अनुसन्धानको नतिजा नआउन्जेल, कुनै पनि पुष्टि भएको उल्लङ्घनलाई कम्पनीको नीति अनुरूप कडा अनुशासनात्मक कारबाही गरिनेछ।’
यो घटनापछि एयर इन्डिया थप निगरानीमा परेको छ। यस हप्ता भारतको नागरिक उड्डयन महानिर्देशनालयले चार पाइलटहरूलाई चेतावनी सूचना पठाएको थियो, जसमा नियामक अनुपालन र उडान चालक दलको निर्णयमा ‘गम्भीर सुरक्षा चिन्ता’ उल्लेख छ।
डिसेम्बर २९ को सूचनाअनुसार पाइलटहरूले बारम्बार समस्या र प्रणालीको क्षयीकरणको जानकारी हुँदाहुँदै विमान सञ्चालन गरेको भनिएको छ। यो विमान बोइङ ७८७ हो।
गत जुन १२ मा बोइङ ड्रीमलाइनर विमान गुजरातमा दुर्घटना हुँदा २६० जनाको मृत्यु भएको थियो। सो दुर्घटनापछि एयर इन्डियामाथि सुरक्षा त्रुटिको निगरानी बढाइएको छ।
प्रकाशित: १९ पुस २०८२ ०८:४६ शनिबार





