२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

बंगलादेशमा बीएनपीको ऐतिहासिक जितपछि मन्त्रिमण्डल विस्तार

बगंलदेशमा मा बिहीबार सम्पन्न संसदीय निर्वाचनले देशको राजनीतिक परिदृश्यलाई नाटकीय रूपमा परिवर्तन गरेको छ। करिब १७ वर्षपछि बंगलादेश नेशनल पार्टी (बीएनपी) बहुमत सहित सत्तामा फर्किएको छ।  

पार्टी सत्तामा फकिएसँगै मंगलबार मन्त्रिमण्डल समेत गठन गरिएको छ। जसमा बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्रीसहित ४९ जनाको मन्त्रिमण्डल विस्तार गरिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार २९९ सिटका लागि भएको निर्वाचनमा बीएनपीले २१२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।  

उसको मुख्य प्रतिस्पर्धी जमात–ए–इस्लामीले ७० सिट जितेको छ। विद्यार्थी (जेन–जी) नेता नाहिद इस्लाम नेतृत्वको नेसनल सिटिजन पार्टी (एनसिपी) ले ३० सिटमा उम्मेदवारी दिए पनि ६ सिट मात्र जित्न सफल भयो। अन्य दलहरूले करिब ७ सिटमा जित निकालेका छन्। शेख हसिनाको नेतृत्वमा रहेको अवामी लिगलाई भने निर्वाचनमा भाग लिन प्रतिबन्ध लगाइएको थियो।  

बंगलादेशको यो निर्वाचन सन् २०२४ को विद्यार्थी (जेनजी) आन्दोलनपछि भएका कारण थप विशेष रह्यो। जेनजी आन्दोलनले अवामी लिगकी नेत्री शेख हसिना नेतृत्वको निरंकुश शासनलाई ढालिदिएको थियो। सोही कारण यस पटक निर्वाचनमा एनसिपीले राम्रो नतिजा पाउने अपेक्षा गरिएको थियो तर उसले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन। जेनजी आन्दोलनपछि पनि बंगलादेशका जनताले सत्ता फेरि पुरानै राजनीतिक शक्तिलाई सुम्पिएका छन्।  

जेनजी आन्दोलनपछि नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको एनसिपीले उल्लेखनीय सफलता हात पार्ने अपेक्षा गरिएको थियो। तर अन्ततः मतदाताले पुरानै शक्तिका रूपमा बीएनपीलाई बहुमतसहित सत्तामा पुर्‍याएका छन्। 

निर्वाचनको मत परिणामपछि मंगलबार बगंलादेशमा नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ। मन्त्रिपरिषद्मा बीएनपीका नेता तारिक रहमान प्रधानमन्त्री नियुक्त भएका छन्। 

त्यसैगरी मन्त्रिपरिषद्मा मिर्जा फखरुल इस्लाम आलमगीर, सलाहुद्दीन  अहमद, अमिर खसरु महमूद चौधरी, इकबाल हसन महमुद टुकु, मेजर (सेवानिवृत्त)  हाफिज उद्दीन अहमद, डा एजेएम जाहिद हुसेन, डा खलिलुर रहमान, अब्दुल अवल मिन्टु, मोफज्जल हुसेन कैकोबाद, मिजानुर रहमान मिनु, निताई राय चौधरी, खण्डकर अब्दुल मुक्तादिर, आरिफुल हक चौधरी, जहिर उद्दिन स्वपन, अमीन उर रशिद, अफरोजा खानम रीता, शाहिद उद्दिन चौधरी एनी, असदुल हबिब दुलु, मो असदुज्जमान, जकारिया ताहेर, दिपेन देवान, एहसानुल हक मिलान, सरदार मोहम्मद साकावत हुसेन, फकिर महबुब अनम तथा शेख रबिउल आलम मन्त्री नियुक्त भएका छन्।

राज्यमन्त्रीहरूमा एम रशिदुज्जमान मिल्लत, अनिन्द्या इस्लाम अमित, मो. शरिफुल आलम, शमा ओबैद इस्लाम, सुल्तान सलाहुद्दीन टुकु, ब्यारिस्टर कैसर कमल, फरहाद हुसेन आजाद, अमिनुल हक, मीर मोहम्मद हेलाल उद्दिन, हबिबुर रशिद, राजिब अहसन, अब्दुल बारी, मीर शाहे आलम, जोनायद साकी, इशराक हुसेन, फरजाना शरमिन, शेख फरिदुल इस्लाम, यासेर खान चौधरी, एम इकबाल हुसेन, एमए मुहित, अहमद सोहेल मंजुर, बबी हज्जाज तथा अली नेवाज महमुद खय्याम नियुक्त भएका छन्। 

पूर्वप्रधानमन्त्री शेख हसिनाको नेतृत्वको अवामी लिगविरुद्ध २०२४ को विद्यार्थी (जेनजी) आन्दोलनपछि राजनीतिक संकट चर्किएको थियो। उक्त आन्दोलनले हसिनाको लामो शासनको अन्त्य गरेको थियो।  

प्रकाशित: ५ फाल्गुन २०८२ १८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App