६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पसँग तिक्तता बढेका बेला चीनको भ्रमण गर्दै बेलायती प्रधानमन्त्री

फाइल तस्बिर

बेलायतका प्रधानमन्त्री किअर स्टार्मर मंगलबार चीन जाँदैछन्। यो आठ वर्षमा बेलायती प्रधानमन्त्रीले गर्न लागेको पहिलो चीन भ्रमण हो। विश्वको दोस्रो ठुलो अर्थतन्त्रसँग सम्बन्ध सुधार्ने र अमेरिकामाथिको बढ्दो निर्भरता घटाउने प्रयासमा यो भ्रमण हुन लागेको रोयटर्सले उल्लेख गरेको छ।

स्टार्मर पछिल्लो पश्चिमी नेता हुन्, जो चीन भ्रमणमा गर्दैछन्। यो भ्रमण ट्रम्पले ग्रीनल्याण्ड नियन्त्रणमा लिने धम्की दिइरहेको समयमा हुन लागेको हो। पछिल्लो समय बेलायत र अमेरिकाबिचको तनाव बढ्दै गएको छ। 

तीन दिने भ्रमणमा दर्जनौं व्यावसायिक प्रतिनिधि र दुई मन्त्रीसँगै स्टार्मरले बेइजिङमा चिनियाँ नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनी सांघाई पनि पुग्ने जनाइएको छ।

चीनपछि उनले जापानको छोटो भ्रमण गर्नेछन्।

किङ्स कलेज लन्डनका चिनियाँ अध्ययनका प्राध्यापक केरी ब्राउन भन्छन्,‘भ्रमणको अग्रभागमा अमेरिका र ट्रम्पको वर्तमान व्यवहार र मुद्रालाई दुवै पक्षले के भन्छन् भन्ने कुरा हुनेछ।’ 

उनले थपे, ‘वर्तमान परिस्थितिको एउटा ठुलो विसंगति भनेको एआई, जनस्वास्थ्य र वातावरण जस्ता केही विश्वव्यापी मुद्दाहरूमा लन्डन सम्भवतः वाशिंगटनभन्दा बेइजिङको नजिक छ।’

सन् २०२४ मा निर्वाचित भएदेखि नै स्टार्मरले चीनसँग सम्बन्ध पुनर्स्थापित गर्ने कुरालाई प्राथमिकता दिएका छन्। हङकङमा लोकतन्त्र समर्थक प्रदर्शनमा दमन, जासुसी र साइबर आक्रमणको आरोपपछि दुई देशको सम्बन्ध खराब भएको थियो। विगतका सरकारमा बिग्रिएको सम्बन्ध सुधार्ने प्रयासमा स्टार्मर छन्।

यो भ्रमणले चीनलाई ट्रम्पको अस्थिर व्यापार नीतिसँग जुधिरहेको अर्को अमेरिकी सहयोगीसँग सम्बन्ध बनाउने अवसर दिनेछ। क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले यसै महिना चीनसँग आर्थिक सम्झौता गरेका थिए। कार्नीको भ्रमणपछि ट्रम्पले चीन व्यापार सम्झौता पालना गरे क्यानडाबाट आउने सबै सामानमा सय प्रतिशत भन्सार शुल्क लगाउने धम्की दिएका थिए। जवाफमा कार्नीले चीनसँग स्वतन्त्र व्यापार गर्ने मनसाय नभएको भन्दै केही क्षेत्रमा भन्सार शुल्क घटाएको भनेका थिए।

चीनको सरकारी अखबार ग्लोबल टाइम्सले लेखेको छ, ‘बेइजिङ विश्वका सबै देशहरूका लागि भरपर्दो साझेदार हुन सक्छ किनभने यसले बहु ध्रुवीय संसारको वकालत गर्दछ।’

पश्चिमी नेताहरूको हालैका बेइजिङ भ्रमणबाट मिश्रित नतिजा आएका छन्। कार्नीले चिनियाँ विद्युतीय सवारी र क्यानेडियन क्यानोला तेलमा शुल्क घटाउने सम्झौता गरेका थिए। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको गत डिसेम्बर भ्रमणले थोरै आर्थिक लाभ दियो।

स्टार्मर पनि सार्वजनिक सेवा र अर्थतन्त्रमा लगानीबाट जीवनस्तर सुधार्ने प्रतिबद्धता पूरा गर्न चीनसँग घनिष्ठ व्यापार चाहन्छन्। तर केही बेलायती र अमेरिकी नेताबाट यो रणनीतिको कडा आलोचना भएको छ।

सरकारी तथ्यांकअनुसार सन् २०२५ को मध्यसम्मको १२ महिनामा चीन बेलायतको चौथो ठुलो व्यापारिक साझेदार थियो। कुल व्यापार करिब एक सय अर्ब पाउण्ड थियो।

लन्डनस्थित चाइना स्ट्राटेजिक रिस्क इन्स्टिच्युटका नीति निर्देशक साम गुडम्यान भन्छन्,‘बेइजिङसँगको सम्बन्ध सुधारबाट बेलायतले अहिलेसम्म थोरै आर्थिक लाभ पाएको छ। चीनको प्रत्यक्ष विदेशी लगानी योगदान शून्य दशमलव दुई प्रतिशत मात्र छ भने अमेरिकाको लगभग एक तिहाइ रहेको छ। गत वर्ष चीनसँगको बजार हिस्सा घटेको छ।’

उनी थप्छन्, ‘हामीले यस सरकारसँग चीनमा धेरै केन्द्रित संलग्नता राखेका छौं, र यस यात्राबाट वास्तविक प्रश्न यो हो कि यो केको लागि थियो? के त्यहाँ कुनै ठोस परिणामहरू छन् जसले ब्रिटिश अर्थतन्त्रमा साँच्चै अर्थपूर्ण वृद्धिलाई औंल्याउँछ?’

चीनको लन्डनमा ‘मेगा–एम्बेसी’ निर्माण योजना अनुमोदन भएपछि यो भ्रमण हुन लागेको हो। केहीले यो भवनले जासुसी गर्न सजिलो बनाउने भन्दै आपत्ति जनाएका थिए। तर स्टार्मरले विरोधीका कुरा सुनेनन्। 

गत महिना स्टार्मरले चीनबाट बेलायतलाई राष्ट्रिय सुरक्षा खतरा भए पनि निकट व्यापारिक सम्बन्ध राष्ट्रिय हितमा हुने बताएका थिए। एजेन्सी 

प्रकाशित: १३ माघ २०८२ १२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App