२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रिक्स सम्मेलन : मोदीले सीलाई ‘ठीक छ’ भन्दै किन सोधे ? नयाँ भिडियो सार्वजनिक

फाइल तस्बिर

भारतको नयाँ दिल्लीमा भएको ब्रिक्स शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ‘इज इट ओके?’ अर्थात् ‘के सब ठीक छ?’ भनेर सोधेको घटनाको नयाँ भिडियो सार्वजनिक भएको छ।

नयाँ भिडियोले मोदीले उक्त प्रश्न सोध्नुअघि सीको अनुवाद उपकरणमा समस्या देखिएको हुनसक्ने देखिएको छ।

रूसी राज्य प्रसारक रोसिया १ ले फरक कोणबाट खिचेको फुटेजमा मोदीले प्रश्न गर्नुअघि सीले अनुवादका लागि प्रयोग गरिरहेको इयरपिस मिलाइरहेको देखिन्छ। सीसँगै रहेका चिनियाँ अधिकारीले पनि उनलाई उपकरण मिलाउन सहयोग गरिरहेका छन्। त्यसपछि मोदीले सीतर्फ फर्किएर ‘इज इट ओके?’ भनेर सोधेको देखिन्छ।

यसअघि सार्वजनिक भएको भिडियोमा मोदीले आफ्नो भाषण केहीबेर रोकेर सीतर्फ हेर्दै ‘के ठीक छ?’ भनेर सोधेको मात्र देखिएको थियो। त्यसपछि सामाजिक सञ्जालमा सीको स्वास्थ्यबारे विभिन्न अनुमान फैलिएका थिए। केही पोस्टमा सी शिखर सम्मेलनका क्रममा अस्वस्थ भएको दाबीसमेत गरिएको थियो।

तर नयाँ फुटेजले मोदीले प्रश्न गर्नुभन्दा केही क्षणअघिको दृश्य देखाएपछि घटनाको अर्को पक्ष बाहिर आएको हो। यसले मोदीको प्रश्न सीको स्वास्थ्य अवस्थाभन्दा अनुवाद उपकरणसँग सम्बन्धित हुनसक्ने संकेत गर्छ। यद्यपि, नयाँ भिडियोले मोदी र सीबिच ठ्याक्कै के कुराकानी भएको थियो भन्ने पूर्ण रूपमा पुष्टि गर्दैन।

मोदी र सीबिचको यो छोटो संवाद नयाँ दिल्लीस्थित भारत मण्डपममा भएको १८औं ब्रिक्स शिखर सम्मेलनका क्रममा भएको थियो। सी सात वर्षपछि पहिलोपटक भारत आएका थिए। शिखर सम्मेलनका क्रममा मोदी र सीबिच द्विपक्षीय भेटवार्तासमेत भएको थियो।

सी गत शनिबार ब्रिक्स नेताहरूका लागि आयोजित रात्रिभोजमा सहभागी नभएपछि उनको स्वास्थ्यबारे थप अनुमान फैलिएको थियो। तर उनको अनुपस्थितिको कारणबारे स्वास्थ्य समस्या पुष्टि गरिएको थिएन। चीनका विदेशमन्त्री वाङ यीले रात्रिभोजमा चीनको प्रतिनिधित्व गरेका थिए।

यसैबिच, ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएपछि विश्व नेताहरू बिरामी परेको भन्दै सामाजिक सञ्जालमा फैलिएका कुरालाई भारतको विदेश मन्त्रालयले ‘नक्कली’ र ‘भ्रामक’ भनेको छ।

बिहीबार मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएका यस्ता पोस्टप्रति सावधान रहन आग्रह गरेको हो। केही एक्स पोस्टमा शिखर सम्मेलनमा सहभागी ‘धेरै’ वा ‘असंख्य’ नेता बिरामी परेको दाबी गरिएको थियो। यस्ता दाबी दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा सहभागी नहुने खबरपछि फैलिएका थिए।

रामाफोसा सोमबार नयाँ दिल्लीमा भएको ब्रिक्स शिखर सम्मेलनबाट दक्षिण अफ्रिका फर्किएका थिए। त्यसपछि उनको मेडिकल टोलीले आराम गर्न र निको हुन सल्लाह दिएको दक्षिण अफ्रिकी राष्ट्रपतिको कार्यालयले बताएको थियो। तर रामाफोसाको स्वास्थ्य समस्या के हो र त्यसको सम्बन्ध ब्रिक्स शिखर सम्मेलनसँग छ कि छैन भन्नेबारे दक्षिण अफ्रिकी सरकारले खुलाएको छैन। 

प्रकाशित: २ आश्विन २०८३ ०९:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App