५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘तीन जनाको डीएनए प्रयोग गरी जन्मिएका बच्चावंशाणुगत रोग मुक्त’

तस्बिर: गार्जिएन

बेलायतमा तीन व्यक्तिको डीएनए प्रयोग गरेर आठ बच्चाहरू जन्मिएका छन् । यी बच्चाहरू  गम्भीर तथा  घातक मानिने माइटोकन्ड्रियल रोगबाट मुक्त रहेको सम्बद्ध चिकित्सकले बताएका छन्।

बिबिसीका अनुसार, बेलायती वैज्ञानिकद्वारा विकास गरिएको यो प्रविधि अन्तर्गत गर्भाधानको क्रममा आमाबुबाको शुक्राणु र डिम्बाणुको साथसाथै एक दातृ महिलाको स्वस्थ डिम्बाणुको संयोजन गरिन्छ ।

बेलायतमा एक दशकदेखि यो प्रविधि कानुनी रूपमा स्वीकृत थियो । तर,  हाल मात्र यो विधि अन्तर्गत प्रमाणित रूपमा रोगरहित बच्चाहरू जन्मिएका हुन । अनुवाशिक रोगमा सर्ने यस्ता रोग प्रायः आमाबाट बच्चामा सर्छन्, यसले शरीरमा ऊर्जा उत्पादन गर्न असमर्थ बनाउँछ । यसले एकातिर गम्भीर अपाङ्गता उत्पन्न गर्न सक्छ भने अर्कोतिर केही केही दिनमै बच्चाको मृत्यु समेत हुने गर्दछ । यदि पहिलेका सन्तान वा परिवारमा यस्तो रोग देखिएको थियो भने, जोडीहरूले यो जोखिम रहेको थाहा पाएका हुन्छन् ।

नयाँ प्रविधि अन्तर्गत तीन जनाको डीएनए प्रयोग गरेर जन्मिएका बच्चाहरूले आफ्नो अधिकांश बशाणु (जीन) आफ्नै आमाबुबाबाट पाउँछन्, तर करिब ०.१ प्रतिशत वंशाणु दातृ महिलाबाट पनि पाउँछन् । वंशाणुमा भएको यो परिवर्तन भावी पुस्तामा पनि सर्छ।

बिबिसीका अनुसार स्वस्थ बच्चा जन्माउन जुन परिवारहरूले यो प्रक्रिया अपनाएका छन्, उनीहरुले आफ्ना विवरण गोप्य राखेका छन् । आफ्नो परिचय नखुलाईकन उनीहरुले न्युक्यासल फर्टिलिटी सेन्टरमार्फत यो बिषयमा प्रतिक्रिया दिएका छन् । सोही सेन्टरमा यो विधि अवलम्बन गरिएको थियो ।

हालै बच्चा पाएकी एक  आमाले ‘वर्षौँको अनिश्चिततापछि यस उपचारले आफूहरूलाई छोरी र आशा दुवै दिएको’ बताएकी छिन् ।

यसैगरी, एउटा छोरा जन्माउने आमाका अनुसार ‘उक्त अद्भुत प्रविधि र सबैको सहयोगको कारण आफ्ना  सानो परिवारको सपना’ पूरा भएको छ छ । 

‘माइटोकन्ड्रियल रोगको भावनात्मक भार हटेको छ र त्यसको सट्टा आशा, खुसी र गहिरो कृतज्ञताले भरिएको छ,’ उनले भनिन् ।

माइटोकन्ड्रिया मानव कोषहरूभित्र रहने साना संरचनाहरू हुन् । यिनैले अक्सिजन प्रयोग गरी खानालाई ऊर्जामा बदल्ने काम गर्छन् । वैज्ञानिकका अनुसार बिग्रिएका माइटोकन्ड्रियाले हृदयको गति रोकिन सक्ने, मस्तिष्कमा क्षति, अपाङ्गता, अन्धोपन, मांसपेशी कमजोर, अङ्ग असफलताजस्ता समस्या निम्त्याउन सक्छ ।

सामान्यत हरेक ५,००० बच्चामध्ये एक जनामा माइटोकन्ड्रियल रोग हुन्छ ।  यो उपचार विधिमा संलग्न न्युक्यासलको टोलीले हरेक वर्ष २० देखि ३० बच्चामा यो प्रविधिको माग हुने विश्वास गरेका छन् । यस्ता रोगका कारण कतिपय आमाबाबुले एक मात्र नभै  धेरै बच्चाहरू गुमाएका छन् ।

माइटोकन्ड्रिया आमाबाट मात्र सन्तानमा सर्ने भएकाले यो प्रविधिमा स्वस्थ माइट्रोकन्ड्रिया भएकी दाता महिलाको प्रयोग गरिन्छ । यो वैज्ञानिक प्रविधि करिब एक दशक अघि न्युक्यासल विश्वविद्यालय र न्युक्यासल टाइन अस्पतालमा रहेको एनएचएस फाउन्डेशन ट्रस्टको अगुवाइमा विकास गरिएको हो । 

प्रक्रिया कस्तो हुन्छ ?

बेलायत पत्रिका गार्जिएनका अनुसार माइटोकन्ड्रियल डोनेसन उपचार (एमडिटी)को उद्देश्य बच्चालाई खराब (म्युटेटेड) माइटोकन्ड्रिया बोक्न नदिने हो ।  यस प्रक्रियामा आमाको डिम्बाणु (अण्डा)लाई बुवाको शुक्राणुबाट गर्भाधान गरिन्छ, त्यसपछि त्यस अण्डाको केन्द्रक (न्यूक्लियस)बाट आनुवंशिक सामग्री निकालेर एउटा स्वस्थ दाताको अण्डामा सारिन्छ, जसको केन्द्रक पहिले नै हटाइएको हुन्छ । 

यसरी गर्भाधान भएको अण्डामा आमाबुबाबाट आएका पूरै गुण सूत्रहरू हुन्छन् तर माइटोकन्ड्रिया भने दाताबाट आएको हुनाले स्वस्थ हुन्छन् ।  त्यसपछि गर्भावस्था अगाडि बढाउन यो अण्डालाई गर्भमा राखिन्छ । यसरी बनेको भ्रूणमा ९९.९ प्रतिशत वंशाणु आमाबुबाबाट र दाताबाट ०.१ प्रतिशत माइटोकन्ड्रियल डिएनए आएको हुन्छ । 

बेलायतमा हालसम्म २२ परिवारले यो प्रविधि अपनाएका छन् । यसमध्ये ४ बालक र ४ बालिका जन्मिएका छन् भने यसमध्ये एक जोडी जुम्ल्याहा छन् । यी सबै बच्चाहरू माइट्रोकन्ड्रियल रोगबाट मुक्त रहेका छन् । केहीमा सामान्य स्वास्थ्य समस्या (एपिलेप्सी, हृदयको धड्कन गडबडी) देखिए पनि ती उपचारयोग्य रहेको पाइएको छ । केही बच्चामा केही मात्रामा (५ देखि २० प्रतिशतसम्म)  खराब माइट्रोकन्ड्रिया देखिएको  तर त्यो रोग उत्पन्न हुने स्तर (८० प्रतिशत) भन्दा यो धेरै कम भएकाले जोखिम रहेको वैज्ञानिक बताउँछन् । 

बेलायतले यो  प्रविधि विकास मात्र होइन, यसलाई कानुनी रूपमा पनि २०१५ मा संसदमा मतदान नै गरेर  अनुमोदन गरेको छ । केही आलोचकले यो प्रविधि ‘वंशाणु संयोजन गरेका  बच्चा’ जन्माउन ढोका खोल्न सक्छ भनेर चिन्ता व्यक्त गरेका छन् । तर तर हालसम्मको उपलब्धि हिसाबले यसलाई प्रभावकारी मानिएको छ । 

प्रकाशित: १ श्रावण २०८२ १७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App