भारत, बिहार विधानसभा चुनावको मतगणना बिहान सवा ८ बजे (नेपाली समयअनुसार) देखि सुरु हुनेछ। नतिजा बिहान पौने ९ बजेपछि उपलब्ध हुने अपेक्षा गरिएको छ।
सबै २४३ सिटका लागि पहिले हुलाक मतपत्रहरू गणना गरिनेछ। पार्टीका उम्मेदवारहरूसँगै स्वतन्त्र उम्मेदवारहरूका एजेन्टहरू गणना केन्द्रहरूमा पुगेका छन्। उनीहरूले मतपेटिकाको छाप र अन्य जानकारी जाँच गरिरहेका छन्।
चुनावी नतिजाले बिहारमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन सरकार फेरि सत्तामा आउने वा महागठबन्धन सत्तामा आउने भन्ने कुरा निर्धारण गर्नेछ। चुनावी नतिजाले राज्यको अर्को मुख्यमन्त्री को बन्ने भनेर पनि निर्धारण गर्नेछ।
बिहार चुनावमा, प्रतिस्पर्धा मुख्यतया जनता दल युनाइटेडका नेता तथा मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा रहेको सत्तारुढ राष्ट्रिय लोकतान्त्रिक गठबन्धन र राष्ट्रीय जनता दलका तेजस्वी यादवको नेतृत्वमा रहेको विपक्षी महागठबन्धनबिच छ। यस पटक प्रशान्त किशोरको जन सुराज पनि भएका कारण धेरै सिटमा चुनावी नतिजा प्रभावित हुने आकंलन गरिएको छ।
आजको चुनावी नतिजाले जनताले जनता दल युनाइटेड प्रमुख र राज्यको सबैभन्दा लामो समयसम्म सेवा गर्ने मुख्यमन्त्री नीतीश कुमारलाई लगातार पाँचौं कार्यकाल दिने वा परिवर्तनको बाटो रोज्ने भन्ने कुरा स्पष्ट गर्नेछ। भारतीय सञ्चारमाध्यमका अनुसार राज्यका ३८ वटै जिल्लामा स्थापित ४६ केन्द्रहरूमा मतगणना हुनेछ। एजेन्सी
प्रकाशित: २८ कार्तिक २०८२ ०८:०४ शुक्रबार





