१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भोटेकोशी बाढी : चीनले थप राहत, ड्रोन र डिएनए उपकरण पठाउँदै

भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले थप आपतकालीन मानवीय सहायता उपलब्ध गराउने भएको छ।

चीनको विदेश मन्त्रालयले मंगलबारदेखि नेपालका लागि दोस्रो चरणको राहत सामग्री पठाउन सुरु गर्ने जनाएको हो। मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नेपालका विपद् प्रभावित क्षेत्रमा आपतकालीन सहायता उपलब्ध गराउनु र अन्तर्राष्ट्रिय उद्धारमा सहयोग गर्नु चीनको महत्त्वपूर्ण निर्णय भएको बताएका छन्। यसले नेपालसँगको मैत्रीपूर्ण सम्बन्धलाई देखाउने उनको भनाइ छ।

दोस्रो चरणमा पठाइने राहत सामग्रीमा तत्काल आवश्यक पर्ने ड्रोन, डिएनए परीक्षणका उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरणका उपकरणलगायत सामाग्री छन्। बाढीका कारण बेपत्ता भएका तथा ज्यान गुमाएका व्यक्तिको पहिचानमा सहयोग गर्न चीनले डिएनए पहिचान विशेषज्ञलाई पनि नेपाल पठाउने भएको छ। चिनियाँ विशेषज्ञले नेपाली अधिकारीहरूसँग मिलेर प्रभावित क्षेत्रमा काम गर्ने गुओले बताए।

यसअघि पनि चीनले नेपाललाई आपतकालीन सहयोग उपलब्ध गराएको थियो। चीनले ५० टन राहत सामग्रीसँगै चिनियाँ सरकारका तर्फबाट २० लाख अमेरिकी डलर नगद सहयोग गरेको थियो। त्यस्तै, चीन रेडक्रस सोसाइटीले थप दुई लाख अमेरिकी डलर सहयोग गरेको थियो।

खोजी तथा उद्धारका लागि सुरुङ उद्धारमा विशेषज्ञता भएका दुई टोलीसमेत नेपाल पठाइएको थियो। चीनले बाढी प्रभावित क्षेत्रका तस्बिरसँगै भू-उपग्रह तथा जलसम्बन्धी तथ्यांक पनि नेपाललाई उपलब्ध गराएको जनाएको छ। बेइजिङले बाढीपछि सम्पर्कविहीन भएका मानिसहरूको खोजीमा पनि सक्दो प्रयास गरिरहेको जनाएको छ। 

साथै, बेपत्ता व्यक्तिको संख्या र पहिचान यकिन गर्न चीनमा रहेका विदेशी दूतावासहरूसँग निरन्तर सम्पर्कमा रहेको र आवश्यक समन्वय गरिरहेको जनाएको छ।

प्रवक्ता गुओका अनुसार बाढीपछि नेपाल र चीनबिच खोजी तथा उद्धार, सूचना आदानप्रदान र थप विपद् रोकथामका विषयमा निरन्तर समन्वय भइरहेको छ।

उनले नेपाल र चीनले मौसम, जलस्रोत तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएको बताए। विपत्तिपछि चीनले नेपाललाई मौसम तथा जलसम्बन्धी तथ्यांक उपलब्ध गराउँदै आएको पनि उनले बताए।

चीनले नेपाललाई प्राविधिक परामर्श दिनुका साथै मौसम तथा जलसम्बन्धी आवश्यक पूर्वसूचना उपलब्ध गराउने काम पनि जारी राखेको गुओले जानकारी गराए। ‘चीन नेपालसँग दृढतापूर्वक उभिनेछ। कठिनाइ पार गर्न नेपालसँग हातेमालो गर्दै दुई देशबिचको परम्परागत मित्रतालाई ठोस काममार्फत देखाउनेछौँ,’ उनले भने।

गुओले नेपाललाई राहत तथा उद्धार प्रयासमा निरन्तर सहयोग गर्ने स्पष्ट पारेका छन्। साथै, विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सहकार्य थप बलियो बनाउने र दुवै देशका नागरिकको साझा हितका लागि काम गर्ने पनि उनले बताए।

प्रकाशित: १६ भाद्र २०८३ १४:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App