जिल्ला प्रहरीले कार्यालय पर्साले ट्याङ्करबाट सरकारी हवाई इन्धन चोरी गरिरहेको अवस्थामा पक्राउ गरेका एक जना मुख्य अभियुक्तलाई उपस्थित गराए बिना नै मुद्दाको मिसिल पर्सा जिल्ला अदालतमा पेस गरेको घटना सार्वजनिक भएको छ।
प्रहरीले घटनास्थलबाट पक्राउ परेको वीरगन्जको गण्डक क्षेत्रमा रहेका सौदागर आयल सेन्टरका सञ्चालक सुनैल मियाँलाई अदालतमा उपस्थिति नै नगराई मुद्दाको मिसिल बुझाएको हो।
कुनै पनि घटनाको अनुसन्धान गर्दा त्यस घटनाको पक्राउ परेका अभियुक्तहरूलाई मुद्दाको मिसिलसहित अदालतमा सम्बन्धित सरकारी वकिल कार्यालय मार्फत पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।
साउन २१ गते काठमाडौंस्थित हवाई इन्धन डिपोमा पुग्नुपर्ने हवाई इन्धन बोकेको ना ७ ख १५३९ नम्बरको ट्यांकरको सिल नफुटाई फलामको पाइपमा जडान गरिएको हुक प्रयोग लाई सौदागर पम्पमा चोरी गरी रहेका थियो।
ट्यांकरबाट सौदागर पम्पमा इन्धन चोरी गरी रहेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल नेतृत्वको टोलीले छापा मारेको थियो।
छापा मार्ने क्रममा घटना स्थलबाट पम्प सञ्चालक सुनैन मियाँसहित सात जनालाई सरकारी इन्धन चोरी गरी रहेको अवस्थामा नियन्त्रणमा लिएको मल्लले दाबी गरेका थिए।
सुनैन मियाँ सम्बन्धी मुद्दाको अनुसन्धान ५ दिन भित्र सकेर अदालतमा पेस गर्न वा अनुसन्धान नटुंगिएमा हाजिर जवानीमा औषधी उपचारको लागि छोड्न पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश गायत्री प्रसाद रेग्मीले २०८३ भदौ २ गते आदेश दिएका थिए।
त्यही आदेशको आधारमा सुनैन मियाँलाई उनका आफन्त तुफान फारुव अन्सारीको जिम्मा भदौ ७ गते थुना मुक्त गरेको पर्सा प्रहरीले जनाएको छ।
सुनैन मियाँ इन्धन चोरीको आरोपमा पर्सा प्रहरीले नियन्त्रणमा लिएदेखि प्रहरी, जिल्ला कार्यालय, जिल्ला न्यायधिवक्ताको कार्यालय र अदालतलाई प्रभावमा परेर उनीलाई थुना मुक्त गराउन दलाल र बिचौलियाहरू लागि परेका छन्।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका सुनैन मियाँलाई मुद्दाको मिसिलसहित पेस गर्न भन्दा पर्सा प्रहरी कार्यालयले सुनैन मियाँ सम्पर्क बाहिर रहेकोले उपस्थित गराउन नसकिएको लिखित रूपमै जवाफ दिएका जिल्ला न्यायाधिवक्ता जिल्ला सरकारी कार्यालय पर्साका प्रमुख मनोज कुमार गुप्लेले बताए।
सुनैन मियाँ सम्पर्कमा नआएकोले उनलाई जिम्मा लिने तुफान फारुव अन्सारीलाई पनि मुद्दाको मिसिल सहित उपस्थित गराउन लिखित रूपमै भन्दा पर्सा प्रहरीले सुनैन मियाँलाई हाजिर जवानीमा बुझ्ने व्यक्ति पनि फरार रहेको भनी प्रतिवेदन दिएको गुप्ताले बताए।
सुनैन मियाँ वा उनलाई हाजिर जवानीमा बुझ्ने व्यक्तिलाई पर्सा प्रहरीले अदालतमा उपस्थित गराउन नचाहेका कारण बुझ नसकिएको जिल्ला महान्यायाधिवक्ता गुप्ताले बताए।
पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मालिकले पर्सा प्रहरीले जिल्ला महान्यायाधिवक्ता कार्यालय मार्फत पेस गरेको भदौ १५ गते चोरी र आपराधिक विश्वासघात गर्ने मुद्दामा अनुसन्धान सकेर मुख्य अभियुक्त सुनैन मियाँलाई अदालतमा पेस नगरे पनि त्यसको बारेमा केही भन्न नसकिने बताएका छन्।
पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले घटनाको मुख्य अभियुक्त सुनैन मियाँ काठमाडौंमा उपचार गराई रहेको अदालतमा पेस गर्न नसकिएको तर्क गरेका छन्।
सुनैन मियाँलाई हाजिर जवानीमा बुझेर लग्ने व्यक्ति फरार रहेकोले उनलाई कारबाही गर्न कानुनी प्रक्रिया अगाडी बढाइएको मल्लले बताए।
अनुसन्धानको क्रममा पर्सा प्रहरीको थुनुवा कोठामा रहेका रहेका सात जना मध्ये मुख्य नाइके थुना मुक्त गर्न आर्थिक र कानुनी चलखेल गरेर अनुसन्धानकै क्रममा भदौ७ गते थुना मुक्त गरिएको थियो।
पर्सा प्रहरीले घटना स्थलबाट सौदागर आयल सेन्टरका सञ्चालक वीरगन्ज–३ का सुनैन मियाँ, पम्पका कर्मचारी वीरगन्ज–१५ असलम हवारी र वीरगन्ज–११ रफिक मियाँ, मकवानपुर हेटौंडा उपमहानगरपालिका–११ सन्देश राना मगर, वडा नम्बर १० का केशरराम सुनार, वडा नम्बर १४ का मनुसिंह लामा र उमेश राना मगर पनि पक्राउ गरेर चोरी र आपराधिक विश्वासघात मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेर थियो।
सुनैन मियाँ पक्राउ परेदेखि प्रहरी हिरासत, स्वास्थ्य परीक्षण, अनुसन्धान प्रक्रिया तथा अदालतको आदेश अनुसार भएको रिहाइ सम्मका सम्पूर्ण घटनालाई प्रभावित पार्न ठुलै आर्थिक चलखेल गरिएको वीरगन्जका स्थानीयहरूले आशंका गरेका छन्।
नेपालको मुलुकी अपराधसंहिता, २०७४ अनुसार सरकारी हवाई इन्धनको ढुवानी वा भण्डारणको क्रममा चोरी भएमा यसलाई ’गम्भीर प्रकृतिको चोरी मानिने र यसमा २ वर्षदेखि ७ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ।
प्रकाशित: १६ भाद्र २०८३ ११:५७ मंगलबार




-600x400.jpg)
