आयोजक लाखेजात्रा सञ्चालन समितिले चौथो ताप्लेजुङ गोल्डकपका ४ क्वाटर फाइनल खेलमा खेलको अवलोकनकर्ताहरुबाट झण्डै १२ लाख रुपैयाँ संकलन गरेको छ।
लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार कुल ११ लाख ९१ हजार २०० रुपैयाँ संकलन भएको छ। यो रकम आयोजकले निर्धारण गरेको टिकट प्याकेजको रकम भन्दा बाहिर प्रवेशद्धारमै संकलन भएको रकम हो । लाखेजात्रा सञ्चालन समितिले यसबर्ष सहयोग सहित गोल्डकपका सबै खेल हेर्नका लागि जनही ३ हजार रुपैयाँको टिकट प्याकेज ल्याएको छ।
टिकट प्याकेजबाट संकलित रकम भने गणना हुन बाँकी रहेको आयोजकले जानकारी दिएको छ । टिकट प्याकेज बाहेक आयोजकले पहिलो क्वाटर फाइनल खेलमा ३ लाख ५५ हजार ८००,दोस्रो खेलबाट १ लाख ८८ हजार २००,तेस्रो खेलबाट २ लाख ६१ हजार ४ सय र अन्तिम क्वाटर फाइनल खेलबाट ३ लाख ८५ हजार ८०० रुपैयाँ संकलन गरेको जनाएको छ।
आयोजकले टिकट प्याकेज बाहेक प्रत्येक दिनको टिकट सोहि दिन लिने दर्शकका लागि क्वाटर फाईनलका ४ खेलका लागि प्रति खेल २०० रुपैयाँ,सेमीफाइनलका दुई खेलका लागि प्रति खेल ३०० रुपैयाँ र फाइनल खेलका लागि ५०० रुपैयाँ टिकट दर निर्धारण गरेको छ।
चौथो संस्करणको ताप्लेजुङ गोल्डकप अन्तरगत आजबाट सेमीफाईनल चरणका खेल हुँदैछन्। पहिलो सेमीफाईनलमा आज गतबर्षको डिफेण्डिङ च्याम्पियन सिराहाको सलहेस युवा क्लव भारत कालिम्पोङको जर्जियन युनाईटेड फुटबल क्लवसंग फाईनल यात्राका लागि प्रतिश्पर्धा गर्दैछ । बुधवार दोस्रो सेमीफाईनलमा फिदिम स्पोर्टिङ क्लवले झापा–११ को टिमसंग प्रतिश्पर्धा गर्ने छ।
प्रकाशित: १६ भाद्र २०८३ १२:११ मंगलबार




-600x400.jpg)
