२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘अमेरिकामा ३० वर्षसम्म संरक्षित भ्रूणबाट जन्मियो बच्चा’

अमेरिकाको ओहायो राज्यका एक जोडीले ३० वर्षभन्दा बढी अवधिसम्म फ्रिजमा संरक्षित गरिएको भ्रूणबाट छोरा जन्माएका छन् । यो आफैमा विश्व कीर्तिमान रहेको बिबिसीले जनाएको छ । 

३५ वर्षीया लिन्ड्से र ३४ वर्षीया टिम पियर्सले गत शनिबार आफ्ना छोरा थाडियस ड्यानियल पियर्सको जन्म भएको घोषणा गरेका छन् ।

 ‘हाम्रो परिवारलाई यो  घटना कुनै साइ–फाई(वैज्ञानिक कल्पनामा आधारित) चलचित्रको जस्तै लागेको छ,’ आमा लिन्ड्सेले मासाच्युट्स इन्सिन्यूट्स अफ टेक्नोलोजी(एमआइटी) रिभ्युलाई भनिन् । 

सबैभन्दा लामो समयसम्म प्रयोगशालामा फ्रिज गरिएको भ्रूणबाट सफलतापूर्वक बच्चा जन्मेको या घट्नालाई विश्व कीर्तिमान मानिएको छ । यसअघि सन् १९९२ मा फ्रिज गरिएको एक भ्रूणबाट सन् २०२२ मा जुम्ल्याहा बच्चा जन्मेका थिए । 

पियर्स दम्पतीले सात वर्षसम्म सन्तान जन्माउने प्रयास गरेका थिए । त्यो संभव नभएपछि उनीहरूले १९९४ मा लिन्डा आर्चर्ड (हाल ६२ वर्षीया) र उनका तत्कालीन श्रीमानले आइभीएफ प्रविधिमार्फत बनाएको भ्रूणलाई स्वीकार गर्ने निर्णय गरेका थिए । 

त्यति बेला लिन्डा आर्चडले चार भ्रूण बनाएकी थिइन् । तीमध्ये एकबाट छोरी(हाल ३० वर्षीय)  छोरी जन्मेकी थिइन भने बाँकी तीन भ्रूणलाई फि«जमा सुरक्षित हिसाबले भण्डारण गरेर राखिएको थियो । 

आर्चडले पति सँग अलग भएपनि ती भ्रूणहरूलाई नष्ट गर्न, अनुसन्धानका लागि दान गर्न वा अन्य परिवारलाई गोप्य हिसाबले उपलब्ध गराउन चाहिनन् । भ्रूणमा रहेको ती बच्चासँग आफू जोडिएको र आफ्नी छोरीसँग पनि उनीहरूको नाता भएका कारण ती भ्रूणलाई आफुले महत्वका साथ सुरक्षित राखेको आर्चडले बताइन् । उनले हजारौँ डलर खर्च गरेर प्रयोगशालामा ती भ्रूणलाई सुरक्षित राखेकी थिइन् । त्यसपछि उनी स्नोफलेक्स कार्यक्रम सञ्चालन गरिरहेको क्रिश्चियन एडप्सन नामक एक संस्थासँग सम्पर्कमा आएकी थिइन् । धेरैजसो यस्ता संस्थाहरू आफ्ना कार्यक्रमलाई जीवन बचाउने कार्य ठान्छन्। 

आर्चडले  धार्मिक, जातीय र राष्ट्रिय प्राथमिकता रोज्न सकिने हिसाबले भ्रूण स्वीकार गर्ने दम्पती रोज्न सक्ने विकल्प अवलम्बन गरिन् । उनले विवाहित,  गोरो बर्णका, ईसाई र अमेरिकामा बसोबास गरिरहेका जोडीलाई प्राथमिकता दिइन् । ‘ म देशबाहिर जान चाहन्नथे,’ उनले भनिन् । अन्ततः उनी पियर्स परिवारसँग जोडिन पुगिन् । 

टेनेसीमा रहेको रिज्वाइस फर्टिलिटी नाम गरेको आइभिएफ क्लिनिकमा यो प्रक्रिया अगाडि बढ्यो र उक्त भ्रूणलाई लिन्ड्सेको गर्भमा राख्यो ।  क्लिनिकले जुनसुकै उमेरको भ्रूण भएपनि सफलतापूर्वक हस्तान्तरण गर्ने आफ्ना  उद्देश्य रहेको बताएको छ ।

‘हामी कुनै कीर्तिमान तोड्न खोजेका छैनौ, हामी त केवल बच्चा चाहन्थ्यौँ,’ लिन्ड्से पियर्सले भनिन् । 

दातृ आमा आर्चर्डले एमआईट रिभ्यूसँगको कुराकानीमा आफुले  अझै बच्चालाई प्रत्यक्ष रुपमा नभेटेको तर आफ्नै छोरीसँग उसको समानता देखेको बताइन् । 

प्रकाशित: १६ श्रावण २०८२ १२:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App