अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिएका भोलिपल्ट इजरायलले तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र पारेको जनाएको छ। यो आक्रमणले कूटनीतिक सम्भावनाभन्दा युद्ध अझै गहिरिँदै गएको स्पष्ट सङ्केत दिएको छ। स्थलगत कारबाहीसमेत अस्वीकार नगरिएको अवस्थामा द्वन्द्वले नयाँ मोड लिने चिन्ता बढेको छ।
सप्ताहन्तमा इरानका ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि तेहरान र आसपास क्षेत्रमा बिजुली अवरुद्ध भएको थियो। त्यसको जवाफमा इरानले इजरायलसँगै कुवेत र साउदी अरबतर्फ नयाँ आक्रमणहरू सुरु गरेको जनाएको छ, जसले द्वन्द्वलाई क्षेत्रीय स्तरमा विस्तार गराएको छ।
लगातारको युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पारेको छ। एसियाका विभिन्न क्षेत्रमा इन्धन अभाव देखिएको छ भने सेयर बजार अस्थिर बनेका छन्। तेलको मूल्य तीव्र रूपमा बढ्दै अमेरिकी बेन्चमार्क प्रति ब्यारेल १०० डलर नजिक पुगेको छ भने ब्रेन्ट ११७ डलर आसपास पुगेको छ।
इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखिरहेको छ। यसैक्रममा इन्डोनेसियाले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न आफ्ना एक सैनिक क्षेप्यास्त्र प्रहारमा मारिएको पुष्टि गरेको छ। युनिफिलले भने प्रक्षेप्यको स्रोतबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
एक महिनादेखि जारी अमेरिका–इजरायल र इरानबीचको युद्धमा धेरै इरानी नेताहरू मारिएको उल्लेख गर्दै ट्रम्पले ‘शासन परिवर्तन’ भइसकेको दाबी गरेका छन्। उनले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै अब इरानमा ‘पूर्ण रूपमा फरक समूह’ सँग व्यवहार भइरहेको बताए।
आगामी हप्तामै सम्झौता सम्भव छ कि भन्ने प्रश्नमा उनले ‘इरानसँग सम्झौता देखिरहेको’ र त्यो ‘छिट्टै हुन सक्ने’ धारणा राखे। तर यसअघि एक अन्तर्वार्तामा उनले इरानको तेल स्रोत नियन्त्रण गर्ने इच्छा व्यक्त गरेका थिए, जसले कूटनीतिक अभिप्रायप्रति थप शङ्का उत्पन्न गरेको छ।
भूमिगत स्तरमा भने आक्रमण–प्रत्याक्रमण रोकिएको छैन। इजरायलले सोमबार इरानबाट प्रक्षेपण गरिएका मिसाइलहरूको जवाफ दिएको जनाएको छ भने तेहरानका विभिन्न सैन्य संरचनामा प्रहार जारी राखिएको उल्लेख गरेको छ।
कूटनीतिक प्रयासहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन्। पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै साउदी अरब, टर्की र इजिप्टका विदेशमन्त्रीहरूलाई इस्लामाबादमा वार्ताका लागि आमन्त्रण गरेको छ। पाकिस्तानका विदेशमन्त्रीले युद्ध अन्त्यका उपायहरूबारे छलफल भइरहेको जानकारी दिनका छन्।
उनका अनुसार इरान र अमेरिका दुवैले वार्तालाई सहज बनाउन पाकिस्तानप्रति विश्वास व्यक्त गरेका छन्। यस सन्दर्भमा चिनियाँ विदेशमन्त्री वाङ यी, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायतसँग पनि समन्वय गरिएको बताइएको छ।
तर इरानभित्र भने अमेरिकामाथि अविश्वास बढ्दो छ। संसद्का सभामुख मोहम्मद बाघेर गालिबफले वासिङ्टनले वार्तालाई ‘धुवाँ पर्दा’ बनाउँदै गोप्य रूपमा जमीनी आक्रमणको तयारी गरिरहेको आरोप लगाएका छन्। उनले इरानी जनताले अमेरिकी फौजको प्रत्यक्ष सामना गर्न तयार रहेको समेत बताए।
युद्ध अन्त्यका लागि विभिन्न प्रस्तावहरू अघि सारिए पनि अमेरिकाले क्षेत्रमा थप सैन्य उपस्थिति बढाइरहेको छ। युएसएस त्रिपोली मध्यपूर्व आइपुगेको छ, जसमा हजारौं मरीन र नाविकहरू तैनाथ छन्। पेन्टागनले सम्भावित स्थलगत कारबाहीका योजना तयार गरिरहेको बताइएको छ, यद्यपि त्यसको औपचारिक स्वीकृति अझै दिइएको छैन।
यसबीच, युद्धको सबैभन्दा ठूलो असर सर्वसाधारणमा परेको छ। तेहरानका एक कलाकारले निरन्तर राति हुने आक्रमणका कारण ‘शान्तिपूर्ण निद्रा हराएको’ गुनासो गरेका छन्, जहाँ विस्फोटका धक्काले सहर नै काँपिरहेको अनुभव हुने गरेको छ।
द्वन्द्व थप चर्किँदै जाँदा इरानले होर्मुज जलमार्ग बन्द गरेको जनाएको छ। यो विश्व तेल आपूर्तिको महत्त्वपूर्ण मार्ग हो। कुवेतमा इरानी आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको छ भने साउदी अरबले आफ्ना सुरक्षाबलले पाँचवटा ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको छ।
ऊर्जा पूर्वाधारमा आक्रमणका कारण इरानका विभिन्न क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। ट्रम्पले यसअघि वार्ता नभए पावर स्टेशनहरूमा आक्रमण गर्ने चेतावनी दिँदै आएका थिए, जसले हालको तनावलाई थप चर्काएको देखिन्छ। एएफपी
प्रकाशित: १६ चैत्र २०८२ १३:४५ सोमबार





