२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा आप्रवासन विरोधी र्‍याली: निशानमा भारतीय, सुरक्षा कडा

बहुसांस्कृतिक समुदायमा सुरक्षा चिन्ता बढ्यो

ब्रिस्बेनका सडकमा ‘मार्च फर अस्ट्रेलिया’ नामक आप्रवासन विरोधी र्‍याली हुने भएपछि शहरमा तनाव बढेको छ। अति दक्षिणपन्थी र नवनाजी समूहले संयुक्त रुपमा गर्ने यो र्‍यालीको निन्दा पनि भइरहेको छ।  

भारतीय समुदायलाई हिंसाको डरले घरमै बस्न भनिएको छ। प्रहरीले सम्भावित अप्रिय घटना रोक्न ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिसहित दंगा टोलीबाट कडा सुरक्षाको योजना बनाएका छन् ।  

‘मार्च फर अस्ट्रेलिया’ आन्दोलनले आप्रवासन, खासगरी भारतीय आप्रवासनलाई ‘सांस्कृतिक प्रतिस्थापन’ को रूपमा चित्रण गरेको छ। आयोजकले र्‍यालीलाई शान्तिपूर्ण भने पनि प्रचार सामग्रीमा भारतीयविरोधी भावना देखिन्छ।  

सिड्नी, मेलबर्न, पर्थ, एडिलेड, क्यानबेरालगायत शहरमा समानान्तर प्रदर्शन हुने तालिका छ। मेलबर्नको र्‍यालीमा ६८४ जनाले सहभागिता जनाउने र एक हजार २०० जनाले चासो देखाएको फेसबुक पेजको सर्वेले जनाएको छ। आयोजकले नेतृत्वविहीन आन्दोलन भने पनि धेरैजसो अतिदक्षिणपन्थी समूहसँग जोडिएका छन् । जसले बहुसांस्कृतिक समुदायमा सुरक्षा चिन्ता बढाएको छ।

अस्ट्रेलियामा नौ लाख १६ हजारभन्दा बढी भारतीय मूलका बासिन्दा छन् । जो जनसंख्याको करिब तीन प्रतिशत हो। भारतीय समुदाय निरन्तर निशानामा परेका छन् । यस वर्ष जनवरीमा भारत-अस्ट्रेलिया क्रिकेट शृङ्खलामा ‘तिम्रो भिसा कहाँ छ?’ जस्ता नस्लीय नारा लगाइएको थियो। जुलाईमा मेलबर्नमा एक भारतीय विद्यार्थीमाथि आक्रमण भएको थियो। क्वीन्सल्याण्ड लेबर पार्टी प्रवक्ता चारिस मुलेनले यी र्‍यालीलाई ‘गलत र खतरनाक’ भन्दै बहुसांस्कृतिक समुदाय डराएको र उनीहरूले पसल बन्द गर्ने तथा काममा नजाने अवस्था आएको बताइन।  

उपप्रधानमन्त्री जारोड ब्लेइजीले विरोध गर्ने अधिकारको समर्थन गरे, तर शान्तिपूर्ण र पारदर्शी रूपमा हुनुपर्ने र कुनै समूहविरुद्ध घृणा फैलाउन नहुने बताए। उनले गत हप्ताको प्यालेस्टाइन समर्थक र्‍यालीमा हमासको झण्डा देखिएको उदाहरण दिँदै यस्ता प्रतीकबाट बच्न भने। मेलबर्नकी मेयर ज्यासिन्टा एलनले बहुसांस्कृतिक उत्सवमा बोल्दै यी र्‍यालीलाई ‘अन-अस्ट्रेलियाली’ भनिन्। उनले अस्ट्रेलियालाई आप्रवासीको देशको रूपमा चित्रण गर्दै भनिन्, ‘हामी नाजीहरूसँग हिँड्दैनौ, हामी उनीहरूसँग युद्ध लड्छौँ।’

भिक्टोरिया प्रहरीले अति-दक्षिणपन्थी र विरोधी समूहको सम्भावित उपस्थितिको जानकारी पाएपछि मेलबर्नको सिटी सेन्टरलाई ‘तोकिएको क्षेत्र’ घोषणा गरेको छ। त्यहाँ हतियार खोजी र मास्क हटाउन अनुरोध गर्न सकिनेछ। नव-नाजी नेता थोमस सेवेलले आफ्नो समूह ‘राष्ट्रिय समाजवादी सञ्जाल’ र्‍यालीमा सहभागी हुने घोषणा गरेका छन्। तर आयोजकले उनको समूहसँग सम्बन्ध अस्वीकार गरेका छन्। प्रहरीले ‘घृणित व्यवहार वा शान्ति भंग गर्नेहरूलाई कडा कारबाही’ गर्ने चेतावनी दिएको छ।

भारतीय समुदायका प्रभावशाली व्यक्ति, जस्तै अमर सिंह र मन्दीप सिंहले र्‍यालीलाई ‘खतरनाक’ भन्दै आप्रवासीलाई सुरक्षित रहन र घरमै बस्न भनेका छन्। मेलबर्नमा वामपन्थी समूहले फासीवादविरोधी प्रदर्शनको योजना बनाएका छन्, जसले तनाव बढाउन सक्छ। युनाइटेड इन्डियन एसोसिएसनका अध्यक्ष सतिश भद्रन्नाले समुदायलाई नडराउन र आफ्नो पहिचानमा गर्व गर्न भनेका छन्।  

‘मार्च फर अस्ट्रेलिया’ र्‍यालीले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा विभाजन र डर सिर्जना गरेको छ। भारतीय समुदायले आफूलाई निशाना बनाइएको महसुस गरिरहँदा सरकार, प्रहरी र समुदायका नेता शान्ति र एकताको लागि अपिल गरिरहेका छन्। यो घटनाले आप्रवासन नीति, सामाजिक एकता र स्वतन्त्र अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठाएको छ, जसको प्रभाव लामो समय रहन सक्छ।  एजेन्सीको सहयोगमा

 

प्रकाशित: १४ भाद्र २०८२ २१:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App