क्यानेडियन औद्योगिक सम्बन्ध बोर्डले रोजगारमन्त्री प्याटी हजदुको निर्देशनमा एयर क्यानडाको क्याबिन क्रू हडताल अन्त्य भएको जानकारी गराएको छ। हडताल अन्त्यपछि एयर क्यानडाले उडानहरू पुनः सुरु गर्ने योजना बनाएको छ।
बोर्डले एयर क्यानडालाई सञ्चालन पुनः सुरु गर्न र सबै एयर क्यानडा र एयर क्यानडा रुजका उडान परिचारकहरूलाई स्थानीय समयअनुसार आइतबार दिउँसो २ बजेसम्म काममा फर्कन निर्देशन दिएको छ।
शनिबार सरकारले हडताल रोक्न र सम्झौता गतिरोध तोड्न बाध्यकारी मध्यस्थता लागू गर्ने निर्णय गरेको थियो। यो कदम एयर क्यानडाले चाहेको भए पनि क्यानाडाली सार्वजनिक कर्मचारीहरूको संघले कडा विरोध गरेको थियो। युनियनले तलब वृद्धि र विमान नचलेको समयको भुक्तानी माग गरेको थियो।
लामो समयदेखि तलब विवादमा रहेका करिब १० हजार क्याबिन क्रूले शुक्रबार मध्यरातदेखि हडताल सुरु गरेका थिए, जुन सन् १९८५ पछिको पहिलो ठुलो हडताल बन्यो। हडतालका कारण सात सयभन्दा बढी दैनिक उडान रद्द भएका थिए। सोहीकारण एक लाख ३० हजार यात्रु प्रभावित भए। एयर क्यानडाले शुक्रवारदेखि उडान रद्द गर्न थालेको थियो।
‘हामी यात्रुहरूलाई विमानस्थल नआउन र वैकल्पिक उडानको टिकट भएमा मात्र आउन सुझाव दिन्छौँ,’ एयर क्यानडाले भनेको थियो।
एयर क्यानडाले स्थानीय समयअनुसार आइतबार साँझबाट उडान पुनः सुरु गर्ने बताएको छ। तर विमान र चालक दलको अव्यवस्थित स्थानका कारण तालिका सामान्य हुन ७ देखि १० दिन लाग्न सक्छ भनिएको छ। यात्रुहरूलाई पूर्ण रकम फिर्ता वा अन्य एयरलाइन्समा पुनः बुकिङको विकल्प दिइएको छ। तर अन्य एयरलाइन्समा सिट पाउन सहज छैन।
यो हडतालले क्यानडाको पर्यटन र व्यापार क्षेत्रमा ठुलो असर पारेको छ। युनियनले सरकारी मध्यस्थताको गर्ने निर्णयलाई ‘एयर क्यानडालाई वार्ता गर्न दबाब कम गर्ने कदम’ भन्दै आलोचना गरेको छ। यद्यपि बोर्डको निर्देशनपछि उडान परिचारकहरू काममा फर्कन बाध्य भएका छन्।
एयर क्यानडा एक्सप्रेसका उडानहरू, जुन ज्याज र पाल एयरलाइन्सले सञ्चालन गर्छन् हडतालबाट प्रभावित भएनन्। यात्रुहरूलाई उडान स्थिति जाँच्न एयर क्यानडाको वेबसाइट वा मोबाइल एप प्रयोग गर्न सुझाव दिइएको छ। एजेन्सी
प्रकाशित: १ भाद्र २०८२ १६:३९ आइतबार





-600x400.jpg)