अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एट्लान्टिक वा प्रशान्त महासागरको नाम परिवर्तन गरेर ‘ट्रम्प महासागर’ वा ‘अमेरिकाको महासागर’ राख्न सकिने बताएका छन्।
उनले गत शनिवार टेनेसीको क्लार्क्सभिलमा आयोजित र्यालीमा बोल्दै यस्तो प्रस्ताव गरेका हुन्। ट्रम्पले भने, ‘हामीसँग खाडी छ। हामीसँग एउटा सुन्दर ताल छ। अब हामीलाई नदी र महासागर पनि चाहिन्छ।’
उनले महासागरको नाम आफ्नै नाममा राख्न सकिने भन्दै ठट्टा गरेका थिए। ‘हामी यसलाई ट्रम्प महासागर वा अमेरिकाको महासागर भन्छौँ, त्यस्तै केही,’ उनले भने। उनको भनाइपछि सहभागीहरू हाँसेका थिए र ताली बजाएका थिए।
यसअघि ट्रम्पले मेक्सिकोको खाडीको नाम परिवर्तन गरेर ‘अमेरिकाको खाडी’ राखेका थिए। उनले अमेरिका र क्यानडाको बिचमा रहेको ओन्टारियो तालको नाम पनि ‘लेक अमेरिका’ राख्ने घोषणा गरेका थिए।
मेक्सिकोको खाडीको नाम परिवर्तन गर्ने निर्णयले अमेरिका र मेक्सिकोबिच विवाद बढाएको थियो।
शनिवारको र्यालीमा ट्रम्पले न्यूयोर्क हुँदै बग्ने हडसन नदी र टेनेसीको पश्चिमी सीमा निर्धारण गर्ने मिसिसिपी नदीको नाम भने परिवर्तन नगर्ने बताए।
गत महिना ट्रम्पले न्यु मेक्सिको राज्यको नाम परिवर्तन गरेर ‘न्यु अमेरिका’ राख्न सुझाव दिएका थिए। तर, गत साता उनले नाम परिवर्तन गर्ने निर्णय त्यहाँका बासिन्दामा निर्भर रहने बताएका थिए।
प्रकाशित: २६ आश्विन २०८३ १३:५९ सोमबार





