जापानको मौसम विज्ञान एजेन्सीले ९.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पको चेतावनी जारी गरेको आठ मिनेटपछि फिर्ता लिएको छ। शुक्रबार दिउँसो जारी गरिएको चेतावनीमा जापानको उत्तरी, पूर्वी र मध्य क्षेत्रमा शक्तिशाली कम्पन हुन सक्ने उल्लेख थियो। तर, जापानमा ठूलो कम्पन महसुस भएन।
रूसको कामचट्का प्रायद्वीप नजिक शुक्रबार दिउँसो ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको दुई मिनेटपछि जापानको मौसम विज्ञान एजेन्सीले आपत्कालीन चेतावनी जारी गरेको थियो। चेतावनीसँगै सार्वजनिक सूचना प्रणाली र मोबाइल फोनमा अलार्म बजेको थियो। एजेन्सीले दिउँसो १२:४८ बजे (स्थानीय समय) चेतावनी फिर्ता लिएको थियो। घटनामा सुनामीको चेतावनी जारी गरिएको थिएन।
जापान टाइम्सका अनुसार चेतावनी प्रणालीले भूकम्पको केन्द्रबिन्दु कुरिल टापु नजिक रहेको गलत आकलन गरेको थियो। साथै, भूकम्पको परिमाण पनि वास्तविकभन्दा धेरै बढी अनुमान गरिएको थियो। यही त्रुटिका कारण ९.९ म्याग्निच्युडको भूकम्पको चेतावनी जारी भएको थियो।
कामचट्का प्रायद्वीप नजिक गएको उक्त भूकम्प १६० किलोमिटर गहिराइमा थियो। त्यसका कारण होक्काइडोको हाकोदातेमा जापानको भूकम्पीय तीव्रता मापन प्रणालीअनुसार पहिलो तहको कम्पन रेकर्ड भएको थियो।
‘हामी अहिले यसको कारणबारे अनुसन्धान गरिरहेका छौँ। कारण पत्ता लाग्नेबित्तिकै विस्तृत जानकारी दिनेछौँ,’ प्रवक्ताले पत्रकार सम्मेलनमा भने। एजेन्सीले साइबर आक्रमणका कारण यस्तो भएको हुन सक्ने आशंकालाई अस्वीकार गरेको छ।
प्रकाशित: ३० आश्विन २०८३ १४:०३ शुक्रबार





