अमेरिकी विदेश मन्त्रालयले व्यापार र पर्यटक भिसाका आवेदकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न १५ हजार डलरसम्मको बोन्ड (ऋणपत्र) राख्न अनिवार्य गर्ने प्रस्ताव गरेको छ।
मन्त्रालयले १२-महिनाको ‘पाइलट प्रोग्राम’ सुरु गर्ने बताएको छ, जसअन्तर्गत उच्च ओभरस्टे दर र कमजोर आन्तरिक कागजात सुरक्षा नियन्त्रण भएका देशका व्यक्तिहरूले भिसा आवेदन दिँदा ५ हजार, १० हजार वा १५ हजार डलर बराबरको बोन्ड राख्नुपर्ने हुन सक्छ।
ट्रम्प प्रशासनले भिसा आवेदकहरूका लागि कडा नीति बनाउँदै गर्दा यो प्रस्ताव आएको हो। एसोसिएटेड प्रेस (एपी) का अनुसार गत हप्ता विदेश मन्त्रालयले धेरै भिसा नवीकरण आवेदकहरूले थप व्यक्तिगत अन्तर्वार्ता दिनुपर्ने घोषणा गरेको थियो, जुन पहिले आवश्यक थिएन। साथै, मन्त्रालयले भिसा विविधता लटरी कार्यक्रमका लागि आवेदकहरूसँग वैध राहदानी हुनुपर्ने प्रस्ताव गरेको छ।
सोमबार फेडरल रजिस्टरको वेबसाइटमा राखिएको बोन्ड सूचनाको पूर्वावलोकनमा ‘पाइलट प्रोग्राम’ औपचारिक प्रकाशनको १५ दिनभित्र लागु हुने उल्लेख छ। यदि कुनै पर्यटकले आफ्नो भिसाका सर्तहरू पालना नगरेमा अमेरिकी सरकार आर्थिक रूपमा जिम्मेवार नहुने स्पष्ट पारिएको छ।
कार्यक्रम लागु भएपछि प्रभावित देशहरूको सूची तयार गरिनेछ। आवेदकको व्यक्तिगत परिस्थितिका आधारमा बोन्ड मिनाहा गर्न सकिनेछ।
यो बोन्ड भिसा छूट कार्यक्रममा सामेल देशका नागरिकहरूलाई लागु हुने छैन, जसले ९० दिनसम्म व्यापार वा पर्यटनका लागि यात्रा गर्न सक्छन्। भिसा छूट कार्यक्रममा सामेल ४२ देशहरूमा धेरैजसो युरोपेली छन्, भने बाँकी एसिया, मध्य पूर्व र अन्य क्षेत्रमा छन्।
यसअघि भिसा बोन्ड प्रस्ताव गरिए पनि लागु गरिएको थिएन। एपी
प्रकाशित: २० श्रावण २०८२ १४:२९ मंगलबार





