यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले पाउँने भएका छन्। 'क्वान्टम मेकानिक्स'बारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार दिने घोषणा गरिएको हो।
'क्वान्टम मेकानिक्स' सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो।
बीबीसीका अनुसार फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस-सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन्। अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन्।
सतहत्तर वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियना विश्वविद्यालयमा संलग्न छन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए।
पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ।
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गरिएको थियो।
प्रकाशित: १९ आश्विन २०७९ ०३:३२ बुधबार