१८ चैत्र २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको विदेश नीतिको फुट्दो फुकुण्डा

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणबाट फर्किए र अमेरिकामा रहँदा उनले संसारभरका नेता तथा औद्योगिक जगतका बहुचर्चित अनुहारसँग भेटघाट गरे। यसका साथै त्यहाँ बस्ने भारतीय मूलका व्यक्तिहरुसँग पनि कुराकानी गरे।

मोदीको यो यात्राको सबैभन्दा महत्वपूर्ण ठेगाना सिलिकन भ्याली थियो। दशकौंपछि कुनै भारतीय प्रधानमन्त्री त्यहाँ जानु प्रतीकात्मक रुपमा यसलाई महत्वपूर्ण मानियो। सिलिकन भ्यालीमा ठूलो संख्यामा भारतीय–अमेरिकीहरुले आफ्नो पेशागत कद र प्रतिष्ठा हलक्क बढाएका छन्। तीमध्ये केही त संसारकै सबैभन्दा ठूला प्रविधि कम्पनीका प्रमुख नै छन्।

गल्ती कहाँनेर भयो?
मोदीको अमेरिका यात्रामा निकै ठूलो वाहवाही कमाए तर भारतका छिमेकी देशहरुका साथ बनेको सम्बन्ध चाहिँ उति राम्रो काम भएको देखिँदैन। चीनसँग भारतको सम्बन्ध कहिल्यै पनि सशक्त हुन सकेन। मालदिभ्ससँग पनि सहज सम्बन्ध हुन सकेको छैन। श्रीलंकासँग चाहिँ बल्ल सम्बन्ध सहज हुने संकेत देखिएको छ।

अर्कोतर्फ, केही हप्तादेखि भारतका दुई सबैभन्दा मुख्य छिमेकी नेपाल र पाकिस्तानसँगको सम्बन्धमा निकै कटुताको अवस्थामा पुगेको छ। भारतीय प्रधानमन्त्रीका लागि यो राम्रो खबर पक्कै मानिने छैन। छिमेकीसँगको सम्बन्ध राम्रो बनाउने आफ्नो विदेश नीतिको पहिलो प्राथमिकता भएको मोदीले भाषण गरेको धेरै दिन बितिसकेको छैन। उसो भए कुरा कहाँनेर बिग्रियो त?

नेपालसँग तनाव
नेपालमा नयाँ संविधान लागु भएपछि दई देशका बीच उत्पन्न तनाव अब एउटा व्यापक राजनीतिक विवादमा परिणत भइरहेको महसुस गर्न सकिन्छ। भारत नेपालको सबैभन्दा सशक्त छिमेकी देश हो तर यही देशसँग चाहि नयाँ संविधान जारी भएकोमा खुला हृदयका साथ स्वागत गरेन।

भारतसँग सीमा जोडिएको तराईका क्षेत्रहरुमा बसोबास गरिरहेकाहरुले संविधानको विरोध गरिरहेका छन्। प्रदर्शनकारीहरुले नेपाल र भारतको मुख्य सीमा बन्द गरिदिए, जसका कारण भारतबाट नेपाल जाने दैनिक आवश्यकताका चिजबिजहरुको चर्को अभाव सुरु भएको छ।

नेपालले तराईमा उठेका प्रदर्शन र 'नाकाबन्दी'का लागि भारत जिम्मेवार रहेको बुझेको छ जबकि भारतले यस आरोपलाई खण्डन गर्योा। भारतले ट्रक मालिकहरुले आफूलाई सुरक्षा अभाव भएकाले जान नमानेको भनिरहेको छ।

भारतसँग नेपालको यो कटुताले सबैलाई छक्क पारेको छ। खासगरी मोदीले सत्ता सम्हाल्नेबित्तिकै सुरुवाती भ्रमण गरेका देशहरुमा नेपाल दोस्रो थियो। नेपालमा प्रधानमन्त्री पदका प्रवल दावेदार तथा वरिष्ठ नेपाली नेता केपी ओलीले मलाई भने, 'मोदी साह्रै राम्रो साथी हुन् र उनले त नेपालीको मन पनि जितेका थिए।'

नेपालका अधिकांशलाई भारत पहिलेजस्तो असल मित्र नरहेको लाग्न थालेको छ भने भारतका केही बुद्धिजीवीहरुले पनि यस्तै ठान्न थालेका छन्। नेपाल मामिलाका विशेषज्ञ प्रोफेसर एसडी मुनि भन्छन्, 'त्यहाँको संसदले संविधान लागु गरिहाल्यो त त्यसलाई रोक्न भारतीय दूत पठाउनु किन परेको?'

भारत–पाकिस्तानको सम्बन्ध
नेपालसँगको सम्बन्ध बिग्रिएसँगै पाकिस्तानसँग पनि लगातार तनावपूर्ण अवस्था सुरु भएको छ। मोदीले प्रधानमन्त्रीको पद सपथग्रहण गर्दा पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ पनि पुगेका थिए। दुई देशबीच सीमामा तनाव त थियो नै संयुक्त राष्ट्रसंघमा पनि मुद्दा उठ्यो तर शान्तिवार्ता सुरु गर्नेतर्फ कुनै खास प्रगति भएको छैन।

सुरुमा दुई देशका विदेश सचिवहरुको बैठक रद्द गरियो अनि त्यसपछि दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाहकार पनि भेट गर्न पाएनन्। 'द डिप्लोमेट' पत्रिकाकी सायरा बानो लेख्छिन्, 'राष्ट्रिय सुरक्षा सल्लाहकारहरुका वार्ता रद्द हुँदा भारतसँग नवाज सरिफले सम्बन्ध सुधार्ने क्षमता निकै कमजोर भएको छ।'

इस्लामावादमा बस्ने एक जना पश्चिमी देशका राजदूत भन्छन्, 'नरेन्द्र मोदीले चुनावमा जति ठूलो जित हासिल गरेका थिए, त्यसले उनी पाकिस्तानका साथ दह्रो सम्बन्ध बनाउन सक्ने अवस्थामा थिए।'

अनुभवहीन सल्लाहकार
केही विश्लेषकहरुका अनुसार मोदीलाई विदेश नीतिको मामिलामा सल्लाह दिने मानिसहरु उति अनुभवी छैनन्। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल जासुसी संस्थाका प्रमुख रहिसकेका व्य्रत्ति्क हुन् जसले पाकिस्तानमा काम गरेका थिए तर उनी अलि कडा स्वभावका मानिन्छन्।

त्यस्तै विदेश सचिव जयशंकर चीन र अमेरिका मामिलाका विशेषज्ञ मानिन्छन् तर कहिल्यै पनि भारतका छिमेकी देशसँग उनको गहन सम्बन्ध देखिएन। टेलिग्राफ अखबारका सल्लाहकार सम्पादक केपी नैय्यर भन्छन्, 'मोदीभन्दा पहिलेका प्रधानमन्त्रीहरु पाकिस्तान मामिलाका जानकारहरुलाई नै आफ्नो सल्लाहकार बनाउँथे, जुन यो बेला हुन सकेन।' श्रोतःबिबिसी

प्रकाशित: १७ आश्विन २०७२ २२:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App