यस वर्षको जनवरी देखि हाल सम्म सुडानमा भएका ड्रोन आक्रमणमा करिब ७०० जना सर्वसाधारणको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय सहायता प्रमुख टम फ्लेचरले बताएका छन् । उनले तीन वर्ष लामो गृहयुद्धले सुडानमा विश्वको सबै भन्दा ठूलो मानवीय सङ्कट सिर्जना गरेको बताए ।
लामो समय चलेको सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिएको छ भने एक करोड १० लाख भन्दा बढी विस्थापित भएको जनाइएको छ ।
सुडानमा पछिल्लो समयमा, दैनिक जसो हुँदै आएका ड्रोन आक्रमणले सुडानको डार्फुरसहित विभिन्न क्षेत्रमा, जन–जीवन अस्तव्यस्त पारेको जनाइएको छ । युद्धले लाखौँ सुडानीहरुलाई आफ्नो घर छोड्न बाध्य पार्नुका साथै क्षेत्रीय अस्थिरताको जोखिम उच्च भएको फ्लेचरले बताए ।
उनले तीन वर्षको युद्धले लगभग तीन करोड ४० लाख मानिसलाई मानवीय सहयोगको आवश्यकता रहेको बताए । उनले परिस्थिती असहज हुँदै जाँदा भोकमरी बढ्दै गएको उल्लेख गर्दै लाखौँ बालबालिका कुपोषित हुनुका साथै शिक्षाबाट वञ्चित रहेको बताए ।
यसै बीच महिला तथा वालीकाहरूले क्रूर यौनजन्य हिंसाको सामना गरिरहेको बताउदै उनले मानवतावादीहरू यस वर्ष दुई करोडलाई सहयोग गर्ने प्रयास गरेको बताए ।
सुडानमा संयुक्त राष्ट्रसङ्घको आवासीय संयोजक डेनिस ब्राउनले यस वर्ष सुडानका लागि सहयोग जुटाउन संयुक्त राष्ट्रसङ्घले गरेको अपिल सदस्य राष्ट्रहरूबाट अन्तर्राष्ट्रिय सहायता योगदानमा कमी आएको कारण असहज भएको बताए ।
सङ्कटग्रस्त शान्ति वार्तालाई पुन स् र्जीवित गरी मानवीय सहायता परिचालन गर्ने उद्देश्यले बुधबार बर्लिनमा आयोजित सम्मेलनमा सहभागी हुन दाताहरू भेला हुने जनाइएको छ । एएफपी
प्रकाशित: १ वैशाख २०८३ १७:१२ मंगलबार





