विश्वकै सबैभन्दा ठूलो तामा उत्पादक देश चिलीको प्रमुख खानी क्षेत्र एन्टोफागास्टामा स्थानीय समय अनुसार सोमबार दिउँसो ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण केही खानीहरूको सञ्चालनमा आंशिक अवरोध पुगे पनि कुनै मानवीय क्षति वा ठूलो भौतिक पूर्वाधारमा नोक्सानी नभएको अधिकारीहरूले जनाएका छन्।
अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको गहिराइ १०९ किलोमिटर (६८ माइल) रहेको थियो। यस्तै, चिलीको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु कालामा सहरभन्दा करिब २० किलोमिटर उत्तरमा रहेको थियो।
चिलीको नौसेनाको हाइड्रोग्राफिक र ओशनोग्राफिक सेवाले यस भूकम्पीय पराकम्पको प्रकृति र विशेषताका कारण चिलीको तटीय क्षेत्रमा सुनामी आउने कुनै पनि सम्भावना नरहेको स्पष्ट पारेको छ।
भूकम्पपछि राष्ट्रिय विपद् रोकथाम तथा प्रतिक्रिया प्रणालीले मानिसहरूमा परेको प्रभाव र आधारभूत सेवामा भएको क्षतिको मूल्याङ्कन गरिरहेको भनेको छ। चिलीको आन्तरिक मामिलाका उपसचिव म्याक्सिमो पावेजले खानी क्षेत्रहरू सञ्चालनमै रहेको र कुनै ठूलो संरचनात्मक क्षति वा घाइतेको विवरण प्राप्त नभएको बताएका छन्। यद्यपि, धेरै खानी मजदुरहरूको बसोबास रहेको कालामा सहरमा २२ हजार २८२ घरधुरीमा बिजुली आपूर्ति बन्द भएको र मुख्य पाइपलाइन फुट्दा तीन हजार घरमा खानेपानी अवरुद्ध भएको उनले जानकारी दिए।
चिलीको सरकारी तामा खानी कम्पनी 'कोडेलको' का प्रवक्ताका अनुसार भूकम्पका कारण खानीका खाडलहरूमा धूलो उडेर दृश्यता कमजोर भएको र केही क्षेत्रमा बिजुली काटिएका कारण केही समयका लागि काम रोकिएको थियो। खानी कम्पनीहरूले तुरुन्तै आफ्नो आपत्कालीन कार्यविधि सक्रिय गर्दै सुविधाहरूको निरीक्षणका लागि सञ्चालन अस्थायी रूपमा स्थगित गरेका थिए।
विपद् व्यवस्थापन एजेन्सीका क्षेत्रीय निर्देशक रिकार्डो मुनिजागाले स्थानीय समाचार च्यानल '२४ होरास' सँग कुरा गर्दै भूकम्पका कारण केही उत्पादन क्षेत्रहरूमा पहिरो गएको बताएका छन्। अर्कोतर्फ, यसै क्षेत्रमा सक्रिय रहेका अन्य ठूला खानी कम्पनीहरू 'बीएचपी' र 'एन्टोफागास्टा' ले भने भूकम्पबाट आफ्नो उत्पादन र सञ्चालनमा कुनै प्रभाव नपरेको स्पष्ट पारेका छन्। चिलीको कुल तामा उत्पादनको ठूलो हिस्सा यही एन्टोफागास्टा क्षेत्रबाट मात्रै हुने गर्दछ। एजेन्सी
प्रकाशित: १२ जेष्ठ २०८३ १०:२६ मंगलबार





