१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जो बाइडेन र भ्लादिमिर पुटिनबीच स्वीट्जरल्यान्डमा पहिलो प्रत्यक्ष भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज  स्वीट्जरल्यान्डको राजधानी जेनेभामा पहिलो प्रत्यक्ष भेटवार्ता हुँदैछ। अमेरिका–रुस सम्बन्ध निकै तल्लो स्तरमा पुगेकै समयमा यो बहुप्रतिक्षित भेटवार्ता हुन लागेको हो। विगत चार महिनादेखि दुबै नेताले एकअर्का विरुद्ध तिखा व्यङ्ग्य र धम्कीपूर्ण भाषा प्रयोग गर्दै आएका थिए। 

राष्ट्रपति बाइडेनले अमेरिकी चासोका क्षेत्रमा रुसी संरक्षणप्राप्त ह्याकरहरुले द्वेषपूर्ण साइबर आक्रमण गर्न रुसी राष्ट्रपतिले उक्साएको आरोप लगाएका छन्। साथै उनले रसियाका अग्रणी विपक्षी नेतालाई अलोकतान्त्रिक विधिबाट जेलमा राखेको तथा अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन्।

तर रुसी राष्ट्रपति पुटिनले अमेरिकी आरोपहरुको खण्डन गरिरहेका छन्। अमेरिकी संसदमा गत जनवरी ६ मा भएको घटनालाई दृष्टान्त बनाउँदै राष्ट्रपति पुटिनले अमेरिकाले लोकतान्त्रिक मूल्यमान्यतालाई लिएर अरुलाई पाठ नपढाएको बेश हुने बताएका छन्। उनले अमेरिकी गुप्तचर निकायहरुले जेसुकै देखाए पनि अमेरिकी कुनै पनि चुनावलाई लक्षित गरेर आफूहरुले हस्तक्षेप वा साइबर आक्रमण नगरेको स्पष्ट गरेका छन्।

अहिले, दुबै नेता जेनेभामा प्रत्यक्ष भेटवार्ताका लागि तयार भएका हुन्। यो वार्ता चार देखि पाँच घण्टा चल्ने अनुमान गरिएको छ। तर वार्ताबाट तत्कालै कुनै निश्कर्ष निस्कनेमा दुबै नेता विश्वस्त छैनन्, तर वार्ता र संवादको ढोका यस भेटवार्ताले सुरु गर्नेछ ।

राष्ट्रपति बाइडेनले यो भेटवार्ता दुबै देशबीच सम्बन्ध सामान्यीकरणमा एउटा महत्वपूर्ण कदम हुने बताएका छन्। संयुक्तराज्य अमेरिका र रुस दुबैले आपसी सम्बन्धमा “स्थायित्व र अनुमानयोग्य” हुने विश्वास लिएको पनि राष्ट्रपति बाइडेनले बताएका छन्।  बाइडेनले गत अप्रिलमा रुसी राष्ट्रपति पुटिनलाई टेलिफोन गरी अमेरिकी चुनावलाई प्रभावित तुल्याउन सक्रिय अमेरिकामा रहेका धेरै जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने तथा रुसी केही दर्जन व्यक्ति एवं कम्पनीमाथि प्रतिबन्ध लगाउने जनाउ दिएका थिए।अमेरिकी यस कदमको विरोधमा रुसले समेत प्रतिशोधपूर्ण कारबाही गरेको थियो।  

तर अहिले रुसी राष्ट्रपति र उहाँको टोली बाइडेनसँगको शिखर वार्ताका लागि जेनेभास्थित सम्मेलन स्थल भिल्ला ला ग्रान्जेमा आइपुग्न लागेको छ। त्यसलगत्तै बाइडेन र उनको टोली सम्मेलन स्थलमा पुग्नेछ। स्वीट्जरल्यान्डका राष्ट्रपति गाए पार्मिलिनले दुबै नेतालाई स्वागत गर्ने छन्।  बाइडेन र पुटिनबीच संक्षिप्त भेटघाट पछि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रुसी विदेश मन्त्री सर्गेई लाभरोभ पनि सहभागी हुनेछन्। त्यसपछि दुई पक्षीय भेटवार्तामा दुबै पक्षका वरिष्ट अधिकारीहरु संलग्न हुनेछन्। 

प्रकाशित: २ असार २०७८ ०९:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App