१ कार्तिक २०७८ सोमबार
अन्तर्राष्ट्रिय

अक्सिजनको चरम अभाव

जानहाबी मोल (बिबिसी)  

भारतको राजधानी नयाँ दिल्लीका २५ परिवारले शुक्रबार बिहान उठ्दा सर गंगाराम अस्पतालमा उपचाररत स्वजनको यथेष्ट अक्सिजनको अभावमा मृत्यु भएको खबर पाए। अस्पतालका मेडिकल डाइरेक्टरले २५ जना गम्भीर बिरामीलाई चाहिने अक्सिजन अभाव भएको बताए। दिल्लीका अधिकांश अस्पतालमा अक्सिजन अभाव भइरहेका बेला शुक्रबार उक्त अस्पतालमा दुःखद घटना भएको हो।

उपचाररत थप ६० बिरामीको ज्यान पनि जोखिममा रहेको चेतावनी दिएपछि उक्त अस्पतालमा शुक्रबार बिहान अक्सिजनको ट्यांकर उपलब्ध गराइएको थियो। गंगाराम अस्पतालमा मात्र होइन, कोरोना संक्रमण तीव्र भएपछि भारतका सुगमदेखि दुर्गम स्थानमा पनि अक्सिजन अभाव खट्किएको छ।  

भारतका पश्चिमी राज्य गुजरात र महाराष्ट्र, उत्तरी क्षेत्रमा पर्ने हरियाणा, मध्य क्षेत्रमा पर्ने मध्यप्रदेशमा अक्सिजन अभाव देखिएको छ। उत्तर प्रदेशका केही अस्पतालले अक्सिजन समाप्त भएको सूचना टाँसेका छन् भने लखनउका केही अस्पतालले बिरामीलाई अन्यत्र सर्न भनेका छन्। दिल्लीका साना अस्पताल र नर्सिङ होमको हालत पनि त्यस्तै छ। विभिन्न सहरमा बिरामीका नातेदार अक्सिजन रिफिल गर्ने केन्द्रमा लामबद्ध छन्। हैदराबादको एक अक्सिजन प्लान्टमा भीड नियन्त्रण गर्न बाउन्सर परिचालन गर्नुपरेको थियो। अस्पतालमा भर्ना हुन कुरिरहेका कतिपय संक्रमितको मृत्यु भएको छ। अस्पतालले श्वासप्रश्वासमा गम्भीर समस्या भएका बिरामीलाई भर्ना गर्न र जीवित राख्न सकेका छैनन्।  

सामाजिक सञ्जाल अक्सिजन सिलिन्डर आवश्यक रहेको व्यग्र अनुरोधले भरिएका छन्। पछिल्लो एक सातादेखि अक्सिजनको पूर्ण अभाव भएको खण्डमा के होला भन्ने विषयले भारत चिन्तित छ। सात महिनाअघि महामारीको पहिलो लहरले चेप्दा पनि अक्सिजनको यस्तै अभाव खट्किएको थियो तर यसपटक अभाव झन् बढी छ। सामान्यतया स्वास्थ्यसेवा केन्द्रले अक्सिजनको कुल खपतको १५ प्रतिशतमात्र उपभोग गर्छन् भने अधिकांश हिस्सा औद्योगिक उपभोगमा खपत हुन्छ। तर महामारीको दोस्रो लहर आएपछि भारतको कुल अक्सिजन आपूर्तिको ९० प्रतिशत अर्थात् ७५ सय मेट्रिक टन अक्सिजन मेडिकल प्रयोजनमा दैनिक रूपमा खपत भइरहेको भारतका स्वास्थ्य अधिकारी बताउँछन्। महामारीको पहिलो लहर अर्थात् गत वर्षको सेप्टेम्बरमा दिनहँु २७ सय मेट्रिक टन अक्सिजन खपत भएको थियो। पछिल्ला दिनमा दिनहँु संक्रमितको संख्या तीव्र रूपले बढेको छ र यो ३ लाखभन्दा अधिक छ।  

‘स्थिति यतिसम्म खराब भएको छ कि केही बिरामीलाई सघन उपचार कक्षमा बेड पाउनुअघि कार्डिएक एम्बुलेन्समा राखेर १२ घण्टासम्म उपचार गर्नुपरेको छ,’ पूणे सहरमा कोभिड अस्पताल सञ्चालन गरिरहेका डा. सिद्धेश्वर सिन्देले भने। गत साता भेन्टिलेटरको अभाव भएपछि सिन्देले बिरामीलाई अन्य सहरमा स्थानान्तरण गरेका थिए। यसअघि अन्यत्रबाट पूणेमा उपचार गर्न आउने प्रचलन रहेकोमा महामारीले बिरामीलाई पूणेबाट बाहिरिन बाध्य बनाएको छ। पूणे सहर रहेको महाराष्ट्र राज्य महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रले दैनिक १२ सय मेट्रिक टन अक्सिजन उत्पादन गरे पनि यो सबै कोरोनाको बिरामीका लागि उपभोग भइरहेको छ। हाल त्यहाँ दैनिक रूपमा १५ सय देखि १६ सय मेट्रिक टन अक्सिजन आवश्यक छ र माग बढ्दो क्रममा छ। ‘हाम्रो जस्तो अस्पतालमा अक्सिजनको यथेष्ट व्यवस्था हुने गथ्र्यो तर पछिल्ला २ साता बिरामीलाई सास फेर्न चाहिने अक्सिजनको अभाव हुन गएको छ। २२ वर्षका युवा बिरामीलाई पनि अक्सिजन सपोर्ट दिनुपरेकोछ,’ डा. सिन्दे भन्छन्।

आपूर्ति व्यवस्था तहसनहस

केही राज्यले अक्सिजन आपूर्तिको सही व्यवस्थापन गरेका छन्। दक्षिणी राज्य केरलाले अक्सिजन आपूर्तिलाई निरन्तरता दिएको छ। केरलाबाट अन्य राज्यमा अक्सिजन आपूर्ति भइरहेको छ। तर दिल्लीलगायत आफ्नै अक्सिजन प्लान्ट नभएका राज्यले अन्य राज्यसँग भर पर्नुपरेको छ। त्यसो त भारतको सर्वाेच्च अदालतले महामारी नियन्त्रणका लागि योजना बनाउन र अक्सिजन अभावको स्थितिलाई सम्बोधन गर्न आदेश दिएकोछ।  

गत वर्षको अक्टुबरमा भारतको स्वास्थ्य मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न बोलपत्र आह्वान गरेको थियो र कुल १६२ वटा प्लान्ट निर्माण गर्ने निर्णय भएको थियो। त्यसमध्ये हालसम्म ३३ प्लान्ट मात्र सञ्चालनमा आएका छन् भने थप ५९ वटा अप्रिलको अन्त्यदेखि सञ्चालन हुने तयारीमा छन्। बाँकी ८० वटा मे अन्तिमदेखि सुरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भारतमा ५०० कारखानाले अक्सिजन उत्पादन गर्छन् र ट्यांकरमार्फत अस्पताललाई उपलब्ध गराउँछन्। त्यही ट्यांकरबाट पाइपमार्फत सीधै बेडमा अक्सिजन पु¥याइन्छ। साना तथा अस्थायी अस्पतालले सिलिन्डर प्रयोग गर्छन्। अक्सिजन प्लान्टबाट एक ट्यांकर अक्सिजन भर्न २ घण्टा लाग्छ। अहिले ट्यांकर प्लान्टअगाडि घण्टौंसम्म पालो कुरेर बस्नुपर्ने बाध्यता छ। अक्सिजनका ट्यांकर प्रतिघण्टा ४० किलोमिटरभन्दा धेरै गतिमा गुडाउन मिल्दैन। दुर्घटना हुने डरले यी ट्यांकर रातमा गुड्दैनन्।  

अक्सिजन आपूर्ति गर्ने एक कम्पनीका प्रमुखका अनुसार पूर्वी भारतबाट अक्सिजन ल्याउन अहिले कठिन भइरहेको छ। पूर्वी भारतका उडिसा र झारखण्ड राज्यमा औद्योगिक आवश्यकताका लागि अक्सिजनको उपभोग अत्यधिक भइरहेको छ। यसैबीच भारत सरकारले ‘अक्सिजन एक्सप्रेस’ सुरु गरेको छ। रेलमार्फत र एयरफोर्सका जहाजको समेत प्रयोग गरेर अक्सिजन अभाव रहेको स्थानमा आपूर्तिको व्यवस्था गरिने सरकारले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०७८ ०६:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App